
काठमाडौ, कालो पुलस्थित शहिद स्मारक जनस्वास्थ्य कलेजको १७औँ वार्षिकोत्सव एवं स्वागत तथा बधाई कार्यक्रम भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रम विश्वविद्यालय अनुदान आयोग, लोक सेवा आयोग तथा गण्डकी विश्वविद्यालय आयोगका पूर्व अध्यक्ष, शिक्षा विद् प्रा. डा. गणेशमान गुरुङज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अवसरमा शहिद मेमोरियल अस्पतालका अध्यक्ष लगायत स्वास्थ्य, शिक्षा तथा विभिन्न क्षेत्रबाट योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य क्रममा कलेजका सञ्चालक तथा वरिष्ठ अधिवक्ता

उपेन्द्र पौडेलज्यूले कलेजको शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले स्वास्थ्य क्षेत्रमा अत्यन्त आवश्यक तथा सम्मानित विषयहरू—स्टाफ नर्स, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजी लगायतका प्राविधिक अध्ययन सञ्चालन गरिरहेको यस कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य सेवा केवल पेशा मात्र नभई मानवताको सेवा भएको र यहाँ अध्ययनरत विद्यार्थीहरूले भविष्यमा देशका नागरिकको जीवन रक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।


