प्रेस स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार अर्जुन ज्ञवालीको ८० वर्षको उमेरमा मृत्यु भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित ज्ञवालीको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।
अर्घाखाँचीको चिदिकामा जन्मिएका उनी हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका, शङ्करनगरका स्थायी बासिन्दा थिए।
मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा लामो समय नेपाली विषय अध्यापन गराएका उनले शिक्षण पेसाबाट अवकाश लिएपछि पनि पत्रकारिता र लेखनलाई निरन्तरता दिँदै आएका थिए।
वि.सं. २०२४ सालदेखि पत्रकारिता सुरु गरेका ज्ञवाली राष्ट्रियता, लोकतन्त्र र सामाजिक उत्तरदायित्वका विषयमा निर्भीक रूपमा कलम चलाउँथे। ‘लुम्बिनी सन्देश’ साप्ताहिकका पूर्वसम्पादक उनी पत्रकारिताका प्रशिक्षकसमेत थिए।
सरल, स्पष्ट र तथ्यमा आधारित लेखन शैलीका कारण पाठकमाझ लोकप्रिय ज्ञवाली आठ दशकको उमेरमा पनि लेखन र वैचारिक गतिविधिमा उत्तिकै सक्रिय थिए। उनका विचार र लेखहरू रूपन्देहीका पत्रपत्रिका तथा अनलाइनमा नियमित प्रकाशित हुन्थे।
पत्रकारिता क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप उनलाई नेपाल पत्रकार महासङ्घले ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेको थियो।
यसका साथै उनले नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, पत्रकार महासङ्घ रूपन्देहीको उत्कृष्ट पत्रकारिता पुरस्कार, गोपाल गोतामे स्वर्ण पदक र लुम्बिनी प्रदेश सरकारको सामाजिक सेवा पदकसहित दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए। स्व. ज्ञवालीका पत्नी, दुई छोरा र एक छोरी छन्।


