बुटवल, रुपन्देहीको तिलोत्तमा नगपालिकाले बनाएको ७ बिगाह क्षेत्रफलमा कुञ्जपार्कले बाक्लिदो शहरी क्षेत्रको बीचमा स्थानीयलाई ठूलो राहत मिल्ने भएको छ । पछिल्लोपटक पार्कमा थपिएको म्युजिकल वाटर फाउन्टेनले यसको आकर्षण बढाएको छ ।
जिल्लामा पर्यटक आकर्षित गर्ने विभिन्न उद्यान र पार्क विकसित भइरहेपनि बस्तीकै बीचमा यो पार्कले धेरैलाई उत्साह थपेको हो । रुपन्देहीमा बुटवलको फूलबारी र हिलपार्क तथा तिलोत्तमाको वनवाटिका र कुञ्जपार्क प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित रहेका छन् । पर्यटकीय सम्भावना बढाउन स्थानीय तहले पनि पार्क निर्माण र व्यवस्थापनमा लगानी गरिरहेका छन् ।
पछिल्लोपटक तिलोत्तमा नगरपालिकाले गौरवको आयोजनाका रूपमा कुन्जपार्कलाई अघि सारेको छ । वडा नं ६ मा रहेको कुञ्जपार्कको आकर्षण म्युजिकल वाटर फाउन्टेन जडानसँगै यसको आकर्षण थपिएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । पार्कभित्र निर्माण गरेको म्युजिकल वाटर फाउन्टेनको सोमबार नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले गरेका हुन् ।
बुटवल–भैरहवा व्यापारिक मार्गको मंगलापुरबाट पश्चिम कुञ्जलापुर गाउँको बीचमा रहेको पार्कलाई नगरपालिकाले पर्यटकीय केन्द्रका रूपमा विकास गरिरहेको छ । स्थानीय बासिन्दाले १६ वर्षदेखि निरन्तर प्रयास गरेर विकास र विस्तार गर्दै आएको पार्कको रेखदेख तथा संरक्षणसमेत स्थानीयले नै गर्दै आएका छन् ।
स्थानीयको लामो प्रयासलाई थप व्यवस्थित बनाउन नगरपालिकाले म्युजिकल वाटर फाउन्टेन निर्माणका लागि एक करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाको लगानीमा निर्माण भएको फाउन्टेनले पार्कमा नयाँ आकर्षण थपेको छ ।
कुञ्जपार्क विकास समितिका अध्यक्ष लोक पुनका अनुसार सात बिघा क्षेत्रफलमा फैलिएको पार्कमा एक बिघा क्षेत्रफलको पोखरी छ । पोखरीमा डुङ्गा सयरको व्यवस्था छ । नगरपालिकाले पोखरीको पश्चिम किनारमा म्युजिकल वाटर फाउन्टेन निर्माण गरेको हो । उनका अनुसार म्युजिकल वाटर फाउन्टेन निर्माणका लागि हालसम्म एक करोड २४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी काम र व्यवस्थापनसँगै यसको नियमित सञ्चालनले कुञ्जपार्कलाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।
पार्कमा वनभोज स्थल, हरियालीयुक्त चौर र आगन्तुकका लागि बस्ने व्यवस्था छ । खानपिनको सुविधासमेत रहेकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि पार्क आकर्षणको केन्द्र बनेको छ । स्थानीय बासिन्दा, परिवार र साथीभाइसँग घुम्न आउनेहरूका लागि पार्क उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको छ ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरीले स्थानीय बासिन्दाको लगन र मेहनतबाट स्थापित पार्कमा म्युजिकल वाटर फाउन्टेन जडान भएपछि पर्यटकको आकर्षण बढ्ने बताइन् । पर्यटकको आगमन बढाउने उद्देश्यले नगरपालिकाले पार्कको विकासमा लगानी गरेको उनको भनाइ छ । नगरभित्र रहेका अन्य पार्कको विकास र व्यवस्थापनलाई पनि निरन्तरता दिइने उनले बताइन् ।
पार्कमा प्रत्येक शनिबार म्युजिकल वाटर फाउन्टेन प्रदर्शन गरिनेछ । यसले पर्यटकलाई आकर्षित गर्नुका साथै तिलोत्तमामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कुञ्जपार्कको विकासले स्थानीय होटल, व्यवसाय र रेस्टुरेन्टको कारोबार बढाउन सहयोग पुग्ने बताए । स्थानीयको प्रयास र मेहनतबाट कुञ्जपार्क रुपन्देहीकै आकर्षणका रूपमा स्थापित भएको उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष गणेश पाठकका अनुसार १६ वर्षअघि झाडी रहेको क्षेत्रमा स्थानीय छत्रबहादुर दर्लामीको पहलमा कुञ्जपार्क निर्माण सुरु गरिएको थियो । स्थानीय बासिन्दाको सक्रियता र निरन्तर प्रयासले पार्क अहिलेको अवस्थामा आइपुगेको उनले बताए ।
‘सम्भवतः नेपालमा म्युजिकल वाटर फाउन्टेन भएको यो नै पहिलो पार्क हो,’ पाठकले भने, ‘त्यसैले नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि यसमा लगानी गरेको हो ।’
नगर प्रमुख खाणले ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ भन्ने नारालाई सार्थक बनाउन म्युजिकल वाटर फाउन्टेन निर्माण गरिएको बताए । उनका अनुसार तिलोत्तमामा कुञ्जपार्कसँगै शंकरनगरमा वनवाटिका पनि प्रमुख आकर्षणका रूपमा रहेको छ । दातृ निकायको सहयोगमा तिलोत्तमा–१७ मा पाँच बिघा जमिनमा नयाँ पार्क निर्माणको कामसमेत अघि बढाइएको छ ।
‘नगरको पर्यटन प्रवर्द्धन र सामाजिक विकासमा यस्ता पार्कको महत्त्व छ,’ खाणले भने, ‘पार्कले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई मानसिक शान्ति प्रदान गर्छन् ।’
तिलोत्तमा बसोबासका लागि मात्र नभई प्रकृति, संस्कृति र सम्भावनाको संगमसमेत रहेको उल्लेख गर्दै उनले विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित गर्न नहुने बताए । भौतिक पूर्वाधारसँगै मानव विकास र सामाजिक गतिविधिलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।


