NRN

Sher-bahadur-Dauba-e1622640410423-1712647199.jpg
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष समानान्तर अधिवेशनमा होमिएका छन्। शशांक कोइरालाको संयोजकत्वमा १५ औं महाधिवेशन तयारी समिति बनाएर देउवा पक्षले आजदेखि वडा अधिवेशन सुरू गर्न लागेका हुन्।

गगन थापा नेतृत्वको कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गरिसकेको छ। यो अधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। त्यसैले आज वडा अधिवेशन गर्न लागेका हुन्।

निवर्तमान सभापति देउवाले आजदेखि देशभर सुरू हुने पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता–कार्यकर्तालाई अपिलसमेत गरेका छन्।

देउवाले बिहीबार अपिल जारी गर्दै झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीका लागि अधिवेशन महत्त्वपूर्ण रहेको बताए।

उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।

देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने देउवा पक्षको भनाइ छ। 

देउवाले पार्टी भित्रका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

देउवा पक्षको अधिवेशनमा नेताहरू भने वडाबाट चुनिएर आउनुपर्दैन। विधानको विगतको व्यवस्थालाई निरन्तरता दिँदै देउवा पक्षले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। तर गगन थापा पक्ष कांग्रेसले भने जुनसुकै तहका नेता वडा तहबाट आउनुपर्ने व्यवस्था गरेको थियो।

गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने भएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update