चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। चक्रवातका कारण ३१ घरमा क्षति पुगेको छ भने धेरै ठाउँमा रूख र बिजुलीका पोल ढलेका छन्।
सडक अवरुद्ध हुनुका साथै विद्युत् आपूर्ति पनि प्रभावित भएको टाइम्सले लेखेको छ। भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० का महानिरीक्षक नरेन्द्र सिंह बुन्डेलाले बुधबार पत्रकार सम्मेलनमा आन्ध्र प्रदेश चक्रवातबाट सबैभन्दा बढी प्रभावित भएको बताए।
‘आन्ध्र प्रदेशमा रूख ढलेका छन्, विभिन्न प्रकारका ३१ घरमा क्षति पुगेको जानकारी आएको छ र तीन जनाको मृत्यु भएको छ,’ उनले भने। उनका अनुसार प्रारम्भिक विवरणमा ओडिशामा भने चक्रवातको गम्भीर असर देखिएको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने तीनै जना आन्ध्र प्रदेशका हुन्। पश्चिम गोदावरी जिल्लाको भीमावरममा रूखले थिचेर ४६ वर्षीय चोक्का किशोर कुमारको मृत्यु भएको थियो। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, विशाखापट्टनम जिल्लामा खेतको कुलोमाथि ढलेको बिजुलीको तारमा छुँदा ५३ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।
अनाकापल्ली जिल्लाको येल्लामन्चिलीमा भुइँमा लत्रिएको बिजुलीको तारमा टेक्दा ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चक्रवातले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। काकिनाडा क्षेत्रमा धेरै रूख र बिजुलीका पोल ढलेका छन्। समुद्री छाल र तटीय कटानका कारण उप्पाडा सडक पनि क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशाखापट्टनमका विभिन्न ठाउँमा पानी जमेको छ भने रूख ढलेपछि केही सडक अवरुद्ध भएका छन्। विद्युत् सेवा पनि प्रभावित भएको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको काकिनाडा र केन्द्रशासित प्रदेश पुदुचेरीको यानमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो।
तट पार गर्ने क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने झोक्कासहितको गति १५० किलोमिटरसम्म पुगेको थियो। जमिनमा प्रवेश गरेपछि चक्रवात कमजोर हुँदै गएको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ।
चक्रवातसँगै भएको भारी वर्षाका कारण अनाकापल्ली र विशाखापट्टनम जिल्लाका केही ठाउँमा २०० मिलिमिटरभन्दा बढी पानी परेको छ। चक्रवात कमजोर भए पनि आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा अझै भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। त्यसैले उद्धार र राहत टोलीलाई थप क्षति हुन नदिन सतर्क रहन भनिएको छ।
आन्ध्र प्रदेश सरकारले ढलेका रूख हटाउने, सडक खुलाउने र विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम गरिरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएका छन्।
सुरक्षित स्थानमा राखिएका मानिसलाई खाना, पिउने पानी र स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। चक्रवातको सम्भावित असरलाई ध्यानमा राख्दै छिमेकी ओडिशामा पनि सतर्कता अपनाइएको छ। त्यहाँ ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एनडीआरएफका टोली आन्ध्र प्रदेश, ओडिशा र आसपासका क्षेत्रमा उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएका छन्। चक्रवातका कारण हवाई र रेल सेवा पनि प्रभावित भएका छन्।
आन्ध्र प्रदेशका तटीय क्षेत्रका विमानस्थलमा केही उडान रद्द भएका छन् भने विभिन्न रेल सेवा पनि रोकिएका छन्। अधिकारीहरूले मौसमको अवस्था हेरेर यातायात र विद्युत् सेवा सामान्य बनाउने काम गरिरहेका छन्।


