
- राजन घिमिरे
नेपालसंगै अन्य देशहरूमा प्रदर्शन भएर राम्रो प्रशंसा बटुलेको फिल्म अन्जिलाले अब अष्ट्रेलियामा प्रदर्शनको यात्रा शुरू गरेको छ ।
यो फिल्मको प्रदर्शनको क्रममा यसका निर्माता प्रेमकुमार श्रेष्ठ यतिबेला अष्ट्रेलिया आइ पुगेका छन । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा भेटिएका निर्माता श्रेष्ठले भने -‘ बेलायत, हकंकगं र कोरिया लगायत बिदेशमा रहनु हुने नेपालीहरूलेजस्तै अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले पनि यो फिल्म हेर्न निकै चासो देखाउंनु भएको थियो । तर अहिले आएर मात्र समय मिलेको छ । यहाँ रहनु हुने नेपाली फिल्म प्रेमीहरू सबैमा निम्तो छ-‘ ।
फिल्म अन्जिलाको अगस्ट १३ तारेखका दिन अष्ट्रेलियाको ब्रिसबेनमा रहेको फाईब स्टार सिनेमा हलमा प्रदर्शन भैसकेको छ भने त्यही हलमा अर्को शो अगष्ट २१ तारेखका दिन हुने छ । यसैगरी यो फिल्मको सिड्नीको अर्बनमा रहेको रिडिगं हलमा अगस्ट २३ तारेखका दिन शो हुने भएको छ ।
अर्बन नेपालीहरूको बाक्लो बस्ती रहेको क्षेत्रको रूपमा स्थापित छ । फिल्म अन्जिलाको पहिलो शो भने अष्ट्रेलियाको एडिलेड शहरमा जुलाई ३० तारेखका दिन भएको थियो ।
फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार फिल्म अन्जिलाको अब क्रमश अष्ट्रेलियाका अन्य शहरहरू मेलबर्न, डार्विन पर्थ र न्यू क्यासलमा पनि शोहरू गरिने भएको छ -‘ यहाँ एडिलेटमा गरिएको पहिलो शोबाट नै हामी निकै उत्साही भएका छौ । यहाँ रहनु हुने नेपाली दर्शकहरूले फिल्मप्रति देखाउंनु भएको चासो र बढाउंनु भएको सहभागिता देख्दा अष्ट्रेलियामा फिल्म अन्जिला सफल हुने तर्फ हामी ढुक्क छौं -‘ निर्माता श्रेष्ठले भने ।
मिलन चाम्सको निर्देशन रहेको फिल्म अन्जिला नेपालको महिला फूटबल क्याप्टेन तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाको बास्तबिक कथामाथि निर्माण गरिएको फिल्म हो ।
अन्जिलाकै मुख्य भूमिका रहेको यो फिल्ममा दयाहांग राई, सुनिल थापा, माओत्से गुरूंग, बिजय बराल र सिर्जना सुब्बा लगायतका कलाकारहरूले अभिनय गरेका छन ।