NRN

PIC1-1785850577.jpg
सिड्नी– कालिकोटस्थित एक विद्यालयको पुनर्निर्माण गर्न सघाउन हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको च्यारिटी डिनर भव्य रुपमा सफल भएको छ । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लास्थित प्राथमिक विद्यालय पुनर्निर्माणमा सघाउन उक्त च्यारिटी डिनर आयोजना गरिएको थियो । सिड्नीको झरना फंक्सन सेन्टरमा आयोजित ’गिभिंग इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रममा बार्टनबाट संघीय संसदमा निर्वाचित सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलबाट निर्वाचित काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डीनेटर डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेत, इ तर प्रकाश श्रेष्ठ लगायतको सहभागिता थियो।

PIC2-1785850725.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अम्बिहाइपहारले हेल्प नेपाल नेटवर्कले गर्दै आएको काम अर्थपूर्ण र प्रभावकारी भएको आफुले पाएको बताइन्। उनले यस्तो कल्याणकारी कामलाई आफुले सक्दो सहयोग गर्ने बताइन्। त्यस्तै काउन्सिलर भट्टले नेपालमा पुस्तकालय निर्माण गर्न काउन्सिलको तर्फ बाट सहयोग गर्ने आफुले पहल गर्ने जनाइन्। हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले रु दस करोडको अक्षय कोष बनाउने अभियानलाई आफुहरुले अगाडी बढाइ रहेको बताए। उनले हेल्प नेपाल नेटवर्क मार्फत सहयोग गर्ने सबै लाई हार्दिक धन्यवाद दिए।

PIC3-1785850812.jpg
कार्यक्रममा इ हर्ष गौतमको तस्बिर अक्शन गरेर उठेको १,५०० डलर लगायत झन्डै ३,००० डलर उठेको छ। उक्त च्यारिटी डीनरबाट उठेको रकम दुर्गम कालिकोट जिल्लाको श्री खापर मष्टा आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग गरिने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले बताइन्। उनले उक्त च्यारिटी डिनरमा सहभागी सबैलाई हार्दिक धन्यवाद दिइन् । यसै गरी हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले संसारभरि रहेका नेपालीहरुले मातृभूमिको सक्दो सेवा गरिरहेको स्मरण गरे -‘ हामी त माध्यम मात्रै हौँ। महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको समय होस्, अष्ट्रेलियास्थित नेपाली समुदायले गर्दै आएको निस्वार्थ सहयोग एकदमै सह्राहनीय छ,' उनले भने ।कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी लगायत दोश्रो पुस्ताका युवाहरुको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा हालसालै पाकिस्तानमा हिम पहिरोमा परी निधन भएका चर्चित पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' लगायत सबै १० जना पर्वतारोहीहरुप्रति श्रद्धान्जलि व्यक्त गरिएको थियो। ‘’मातृभूमिका लागि महिनामा एक पाउण्ड-एक डलर” भन्ने नारासहित सन् १९९९ मा हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो । नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २२ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । त्यस्तै सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा २२ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् । सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुर्‍याउँदै आएको छ ।

 

Compos

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update