NRN
मेक्सिको सिटीमा अस्ट्रेलियाका गणेश केसीलाई मानार्थ विद्यावारिधि (Honorary Doctorate) सम्मान…॥

नेपाल सरकारको अमेरिकास्थित नेपाली राजदूतावास (मेक्सिकोका लागि समवर्ती मान्यता प्राप्त) को आयोजनामा मेक्सिको सिटीमा “Connect Nepal Through Investment and Tourism” शीर्षकको विशेष अन्तर्राष्ट्रिय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जना उच्च तहका कूटनीतिज्ञ, व्यवसायी, शिक्षाविद्, पर्यटन विज्ञ, सरकारी प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मेक्सिकोको मिचोआकान राज्यस्थित जिटाकुआरो (Zitácuaro) नगरपालिकाका मेयर जुआन एन्टोनियो इक्स्टलाहुआक ओरिहुएला (Juan Antonio Ixtláhuac Orihuela) को विशेष उपस्थिति रहेको थियो। उहाँले नेपाल–मेक्सिकोबीचको मित्रता, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता अन्तर्राष्ट्रिय पहलहरू महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको आयोजकहरूले बताएका छन्।

उहाँको सहभागिताले दुवै देशबीच स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सहकार्य विस्तार गर्ने सम्भावनालाई थप बल प्रदान गरेको सहभागीहरूको विश्वास थियो। कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा मेक्सिकोका लागि समवर्ती राजदूत महामहिम शरदराज आरणले गर्नुभएको थियो।

उहाँले नेपालको पर्यटन, विदेशी प्रत्यक्ष लगानी (FDI), ऊर्जा, पूर्वाधार, कृषि तथा सूचना प्रविधिमा रहेका सम्भावनाबारे प्रस्तुति दिँदै मेक्सिको र ल्याटिन अमेरिकी लगानीकर्तालाई नेपालसँग सहकार्य गर्न आह्वान गर्नुभयो। यस ऐतिहासिक समारोहको अर्को प्रमुख आकर्षण मानार्थ विद्यावारिधि (Honorary Doctorate Recognition) प्रदान गर्नु थियो। कार्यक्रममा महामहिम शरदराज आरण तथा NRNA Australia का पूर्व अध्यक्ष गणेश केसीलाई नेपाल–मेक्सिको सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य, पर्यटन प्रवर्द्धन र सामाजिक योगदानको कदरस्वरूप Honorary Doctorate Recognition प्रदान गरिएको थियो। गणेश केसीले लामो समयदेखि प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विदेशी लगानी भित्र्याउने प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी विशेष भिडियो प्रदर्शन, नेपाल भ्रमण गरेका मेक्सिकन एभरेष्ट आरोही तथा पर्यटकहरूको अनुभव आदान–प्रदान, अन्तरक्रियात्मक प्रश्नोत्तर तथा व्यवसायिक नेटवर्किङ सत्र पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रमको मुख्य संयोजन (Organizing Lead) इन्द्र कट्टेलले गर्नुभएको थियो। उहाँको नेतृत्वमा सम्पन्न कार्यक्रमले नेपाललाई मेक्सिको र ल्याटिन अमेरिकी क्षेत्रसँग पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूको विश्वास छ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, लगानीका सम्भावना र आर्थिक अवसरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने यस प्रकारका कार्यक्रमहरूले नेपाललाई विश्व पर्यटन र लगानीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update