NRN
चलचित्र पी आरको अष्ट्रेलियामा हुने भयो रेड  कार्पेट प्रीमियर

- राजन घिमिरे ( सिड्नी )

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रीमियर अष्ट्रेलियामा हुने भएको छ। निर्माण पक्षका अनुसार, फिल्मको प्रीमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा आयोजना गरिनेछ। फिल्मको पहिलो प्रीमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा हलमा हुनेछ, भने दोस्रो प्रीमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमा हलमा गरिनेछ। फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुँदैछ।

शोभित बस्नेतद्वारा निर्देशित यो फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ। त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् । फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। कथा निर्देशक बस्नेतकै हो भने, पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्।

फिल्मको छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल) ले गरेका हुन् भने, सम्पादन बन्दे प्रसादले गरेका छन्। नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ। निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेका छन् भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन्। निर्देशक बस्नेतका अनुसार, फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो।

विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष र नेपालमा रहेका परिवारजनको पीडा फिल्मको मुख्य विषयवस्तु हो। निर्माण टिमका अनुसार, ‘पीआर’ नेपाली डायस्पोराले हेर्नैपर्ने फिल्म हो। विदेश गएका छोराछोरी र नेपालमा रहेका बुवा–आमाबीचको आर्थिक तथा भावनात्मक सम्बन्ध फिल्मको कथामा समेटिएको छ। फिल्मको कथाका बारेमा सुनाउँदै निर्देशक बस्नेतले भने – ‘अहिले “पीआर” प्रति अष्ट्रेलियाका विभिन्न सहरहरूमा उच्च माग देखिएको छ। चाँडै नै यो फिल्मलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं।’ फिल्मको रिलिजका लागि वितरकसँग छलफल भइरहेको समेत उनले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update