
भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
दुई देशबीचले एकअर्कालाई रकेट आक्रामण गर्न थालेपछि बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभर पछि रद्द भएको थियो ।
आइपिएलअन्तर्गत शुक्रबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने तय थियो ।
बिहीबार धर्मशालामा खेल रद्द भएपछि दुवै टोलीका खेलाडी र कर्मचारीहरूलाई धर्मशालाबाट लगभग ८५ किलोमिटर टाढा रहेको पठानकोटबाट विशेष रेलमार्फत दिल्ली लगिएको छ ।
आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ । समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्।
पाकिस्तानमा सञ्चालन भइरहेको पाकिस्तान सुपर लिग (पिएसएल) भने सीमा तनावका कारण युएईमाा सारिएको छ । यो सिजन पिएसएलका आठ खेल बाँकी छन् ।
बिहीबार कराँची किंग्स र पेशावर जाल्मीले रावलपिंडीमा खेल खेल्ने तय थियो । तर जुन आपतकालीन बैठकपछि यो खेल स्थगित गरिएको थियो ।
पिएसएलमा आबद्ध विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गएका छन् । युएईमा सारिए पनि कुन स्थानमा पिएसएलका बाँकी खेल हुने विषयमा भनिएको छैन ।