काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४५ रनले पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमै समेटिएपछि नेपालले उपाधि आफ्नो पक्षमा पारेको हो।
यूएईको पारीमा राहुल चोप्राले शतकीय योगदान दिए। उनले १०५ बलमा तीन चौका र चार छक्कासहित १०४ रन बनाए। शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले तीन विकेट लिए। ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको शतकको मद्दतमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। आसिफले १०६ बलमा आठ चौका र चार छक्कासहित १०४ रनको उत्कृष्ट पारी खेले। नेपालका लागि गुल्सन झाले ५२, अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३ तथा सन्दीप जोराले सात रन जोडे। करण केसी र ललित राजवंशीले समान एक रन बनाए ।
यूएईका इब्रार अहमदले चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिए । प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपालले अब एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो।


