NRN
एन्फाको साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश धर्नामा

अदालतले गरेको आदेश विपरित अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश थापा धर्नामा बसेका छन् ।

धुलिखेल स्थित साधारणसभा स्थलबाहिर उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।

धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए।

तर थापाको हलमा प्रवेशका लागि साधारणसभाको परिचय पास नभएको बन्दै गेटमै रोकिएको थियो ।

अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिइसकेको छ । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि रोकिएपछि थापा आक्रोशित बनेका थिए । उनीसँगै छोरा गौरव थापालाई पनि विनाकारण रोकिएको छ ।

यसैबीच, थापाले साधारणसभामा सहभागी हुन आएका खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् । आफूले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै उनले ज्ञापनपत्र दिएका हुन् ।

थापाले एन्फाका पदाधिकारीहरुसँग कुरा गर्न खोजिरहेका छन् । तर, अध्यक्ष पंकजविक्रम नेम्वाङसहित कुनै पनि पदाधिकारी उनीसँग संवाद गर्न तयार छैनन् । उनीहरु सबै थापाभन्दा पहिल्यै साधारणसभामा छिरेका थिए । गेटमा लफडा भइरहँदा पनि कोही बाहिर निस्किएनन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन लगाएको प्रतिबन्ध वैशाख पहिलो साता सकिएको थियो ।

थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update