
नेपाल सुपर लिग (एनएएसल) २०२५ को ११औं खेलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
तीन खेलमा दुई बराबरी र एक हारपछि काठमाडौं २ अंक जोडेर छैटौं स्थानमा छ भने १ अंक मात्र जोडेको बुटवल लुम्बिनी सातौं तथा अन्तिम स्थानमा छ । बुटवलले एक बराबरी खेल्दा दुई खेलमा पराजित भएको थियो ।
उद्घाटन खेलमै साविक विजेता ललितपुर सिटी विरुद्ध दुई गोलले पछि पर्दा उत्कृष्ट कम्बयाक गर्दै २-२ को बराबरी खेलेको काठमाडौंले दोस्रो खेलमा झापासँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि पोखरा थण्डर्ससँग भने २-० ले पराजित भयो ।
पहिलो खेलमा कप्तान एरिक विष्टले रातो कार्ड पाउँदा पनि झापालाई गोलरहित बराबरीमा रोकेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ ले पराजित भएको थियो । तयसपछि एफसी चितवनसँग बुटवल १-० ले पराजित भएको थियो ।