NRN
happy birthday जित बहादुर…अर्थात जितु नेपाल

हेर्दा निकै सामान्य लाग्दछन् जितबहादुर नेपाल, अर्थात जीतु नेपाल । आज नाम, दाम र शानको शिखरमा पुग्दा पनि उनमा दम्भ र घमण्ड कतै र कहिल्यै पनि देखिएन । संघर्ष, दुःख, कष्ट र त्यागका थुप्रै पहाडहरू चढेका जीतु नेपाल नेपाली हांस्य कलाकारिता फाँटका ठूलो छाती र सोच भएका कलाकार हुन् ।

कलाकारिता क्षेत्रमा निकै सामान्य तरिकाले प्रवेश गरेका थिए जितु नेपाल । न त कलाकारितामा उनको पारिवारिक ब्याकग्राउण्ड थियो न त उनलाई हात समाएर हिँडाउने अरू कोही नै थिए । आज सबै कुराबाट भरिपूर्ण हुँदा पनि जीतु सामान्य नै लाग्छन् । उनको ब्यवहार र उपस्थिति साँच्चै शालीन, भद्र र सौम्य नै छ । शारीरिक रूपमा सानो कदका जितु सोच, उद्देश्य र विचार ठूलो भएका कालाकार हुनुभन्दा फरक नपर्ला । उनी भन्छन्- ‘म भगवानसँग यही प्रार्थना गर्छु कि यहीँ सामान्य जीवन बिताऊँदा बिताउँदै कलाकारितामा लागेर देह त्याग गर्न पाउँ ।’ आज जितु जुन स्थानमा छन्, त्यहाँ पुग्न जितुको आफ्नै मिहेनत र संघर्ष छ । शुरूका समयमा दिनेश डिसीको ट्वाक्कटुक्क नै उनको लागि अमृत समान भैदियो । धेरै कलाकारहरू जन्माएको ट्वाक्कटुक्कबाट जन्मिएका एक कालाकार हुन् जितु नेपाल ।

टेलिभिजनको पर्दामा प्रवेश गराउने ट्वाक्कटुक्कदेखि गीतान्जलीसम्म आइपुग्दा जितु स्थापित भैसकेका थिए । टेलिभिनबाट जन-जनमा पुगेपछि जितुले ठूलो पर्दाका चलचित्रहरूमा पनि दह्रै उपस्थिति जनाउने अवसरहरू पाए । अहिलेको ताजा कुरा गर्ने हो भने जितुले आफ्नो लगानीमा बनाएको चलचित्र ‘ आइ एम जितबहादुर’ यतिबेला चर्चामा छ । फरक कथा अनि शानदार चर्चा र बजार गरमाएको यो चलचित्र असार ५ गतेदेखी रिलिज हुने भएको छ । यो चलचित्र मार्फत जितुले आफ्नो क्षमता, कला र दक्षतालाई झनै बृहत बनाउने कुरामा शंका छैन ।यस बाहेक नेपालका ‘एकल स्टेज शो’गरेर स्टेज कभर गर्न सक्ने र दर्शकहरूलाई मन्त्रमुग्ध पार्न सक्ने थोरै कलाकारहरू भित्र पर्दछन् जितु नेपाल ।

जीवनमा कलाकारिता बाहेक जितुले न केही जाने न त केही सोचे । न केही गरे न त कलाकारितालाई माध्यम बनाएर अरू नै विधामा हात हाले ? करिव दुई दशकभन्दा लामो समयदेखि कलाकारितामा आजसम्म अथक रूपमा भिडेको भिडै छन् जितु- ‘अझै पनि संघर्ष र मिहेनतमै छु । नयाँ-नयाँ खुराकहरू कसरी दिने ? पुरानादेखि आजका पुस्तासम्मको मन कसरी जित्ने ? यही कोशिसमा लागिरहेको छु र लागिरहने छु’- जितुले प्रतिबद्धता ब्यक्त गरे, ‘दर्शकहरूले जे गरेको छस्, त्यही गर् भन्नुभएको छ र म पनि दर्शकहरूको विश्वास र सुझावलाई शिरमा राखेर कलाकारिताको कर्ममा लागेको छु ।’ उमेरले कति वर्ष पुगे जितु नेपाल ? त्यसको हिसाबकिताब नगरौँ । भनिन्छ नि मानिसलाई उमेरले होइन, कर्मले नाप्ने गरौँ । हो, जितु पनि कर्मशील र कर्ममा रमाउने कलाकार हुन् ।

त्यसैले हांस्यकलाकरिता विधामा जितुले बिताएका वर्ष, फटाएका भोटा र कटाएका उमेर कम छैन । आगामी दिनहरूमा पनि जितुको सक्रियता, उत्साह, जाँगर, हौशला र निरन्तरतामा कहिले पनि कमी नआओस् । आज परेको उनको जन्मदिनमा उनलाई शुभकामना दिँदै उनीबाट यही अपेक्षा राख्दछौँ ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update