काठमाडौं– सञ्चार कर्मको माध्यामबाट नेपाली चलचित्र, गीत, संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आएका उदयराज शर्मा १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत प्रदान गरिएको ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ बाट सम्मानित भएका छन् । आइतवार काठमाडौंमा आयोजित समारोहमा शर्मालाई नेपालको चलचित्र गीत, संगीत, साहित्य भाषा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
पत्रकारिताको क्षेत्रमा शर्माले दुई दशकभन्दा लामो समयदेखि नेपाल टेलिभिजन, एन्टिभि प्लस लगायत अन्य सञ्चार माध्याममार्फत दर्शकमाझ लोकपृय बनेका कार्यक्रम क्ल्यापबोर्ड, मुभीमाला, आईएमई म्युजिकर जोर्नी, फेशन अववर, विकास र बहस, म मेरो देश मेरो सन्देश लगायतका कार्यक्रममा भिडियो सम्पादक, छायाँकार, रिपोर्टर तथा सञ्चारकर्मीका रुपमा योगदान दिएका छन् । नेपाल टेलिभिजनको चलचित्र समाचारमा रिपोर्टर तथा सम्पादकका रुपमा पनि करिब दई वर्ष काम गरेका छन् ।
दर्जनौं वृत्तचित्र, व्यक्तिगत–परिचय तथा सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन सामग्री निर्माण गर्दै आएका छन् । ५२ घुस्सा ५३ ठक्कर लगायतका टेलिचलचित्रदेखी माइला र भाइमाराजस्ता नेपाली चलचित्रसम्म उनको प्रविधिक तथा सिर्जनात्मक संलग्नता रहेको छ । आधा दर्जनभन्दा बढी म्युजिक भिडियो तथा केहि टेलिभिजन विज्ञापनमा समेत उनले दक्षता प्रस्तुत गरेका छन् । संगीतप्रतिको उनको लगाव पनि उत्तिकै गहिरो छ ।
केहि गीतमा स्वर तथा संगीत सिर्जना गर्दै सांगीतिक क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउँदै आएका छन् । नेपाली समाजको चलचित्रमा प्रतिबिम्ब विषयमा अनुसन्धान गरी चलचित्र र समाजबीचको सम्बन्धलाई अध्ययन गर्ने प्रयास समेत गरेका छन् । हाल डच मिडिया प्राली अनामनगरबाट निर्माण हुने विभिन्न कार्यक्रममा कार्यरत शर्मा सिनेमा सन्सार टिभी, सिने संगालो र दृष्यमालाका रिपोर्टर, छायाँकार तथा सम्पादक हुन् । उनका यस्ता योगदानको उच्च मूल्यांकन गर्दै सम्मान अर्पण गरिएको बताइएको छ ।


