
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय अहिले तीव्र गतिमा विस्तार हुँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार अष्ट्रेलियामा हाल २ लाख १० हजारभन्दा बढी नेपालमा जन्मिएका मानिसहरू बसोबास गरिरहेका छन्, जसले नेपाली समुदायलाई अष्ट्रेलियाको प्रमुख आप्रवासी समुदायमध्ये एक बनाएको छ। नेपालस्थित अष्ट्रेलियन दूतावाससँगको सहकार्यमा प्रकाशित नेपाली डायस्पोरा ईन अष्ट्रेलिया अध्ययन प्रतिवेदनको परराष्ट्रमन्त्री शिशिर खनाल र राजदूत सिमोन अर्नेष्टले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनमा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मुलका बासिन्दाहरुसँग गरिएको कुराकानीका आधारमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ । अध्ययनलाई अष्ट्रेलियामा रहेका नेपाली सामूदायिक संघसंस्थाले सहयोग गरेका थिए । “नेपाली डायस्पोरा इन अष्ट्रेलिया” शीर्षकको प्रतिवेदनले नेपाली समुदायलाई नेपाल र अष्ट्रेलियाबीचको “जीवित पुल” (Living Bridge) को रूपमा चित्रण गरेको छ। प्रतिवेदन अनुसार नेपालीहरू केवल अध्ययनका लागि मात्र अष्ट्रेलिया जाने नभई स्थायी बसोबास, व्यवसाय, राजनीति, स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक नेतृत्वमा समेत सक्रिय रूपमा अघि बढिरहेका छन्। विशेषगरी सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेड क्षेत्रमा नेपालीहरूको जनसंख्या उल्लेखनीय रूपमा बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पछिल्लो दशकमा नेपाली विद्यार्थी, दक्ष कामदार तथा परिवार पुनर्मिलन कार्यक्रममार्फत अष्ट्रेलिया आउने नेपालीहरूको संख्या तीव्र गतिमा बढेको देखिएको छ। प्रतिवेदनले अष्ट्रेलियामा रहेका नेपालीहरूले नेपालसँगको सम्बन्ध पनि मजबुत बनाइरहेको उल्लेख गरेको छ। नेपालीहरूले नियमित रूपमा रेमिटेन्स पठाउने, परिवारलाई आर्थिक सहयोग गर्ने, नेपाल भ्रमण गर्ने तथा नेपाली भाषा र संस्कृतिको संरक्षणमा सक्रिय भूमिका खेलिरहेको प्रतिवेदनमा जनाइएको छ। दशैं, तिहार, होली तथा नेपाली नयाँ वर्षजस्ता पर्वहरू अष्ट्रेलियाका विभिन्न शहरहरूमा भव्य रूपमा मनाइने गरिएको छ। यसले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको बताइएको छ।
प्रतिवेदनले अष्ट्रेलियाबाट फर्किने नेपालीहरूले अन्तर्राष्ट्रिय अनुभव, आधुनिक सीप तथा नयाँ कार्य संस्कार नेपालमा ल्याएर देशको विकासमा समेत योगदान दिन सक्ने उल्लेख गरेको छ। अध्ययनले नेपाली समुदायलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्सा भएको निष्कर्ष निकालेको छ।


