NRN

kuhiro-hussu-weather_7VnWSvfNaH-1767506412.jpg
काठमाडौं । देशभर चिसो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गर्दै चिसोका कारण विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चेतावनी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडोयामसँगै तापक्रम अस्वाभाविक रूपमा घट्दा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता मौसमी अवस्थाले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ। यसका कारण रुघाखोकी, ज्वरो, दम, सास फेर्न गाह्रो हुने समस्या तथा हाइपोथर्मियाका बिरामी बढ्दै गएका छन्।

उनले चिसोका कारण स्वास्थ्य समस्या देखा परेमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जान वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मार्फत परामर्श लिन सुझाव दिए। विशेष गरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले उनीहरूलाई अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ।

डा. बुढाथोकीका अनुसार पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कजस्ता महत्वपूर्ण अङ्गमा गम्भीर असर पुर्‍याउने गरेको छ। यसले दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम बढाउनुका साथै मृत्युदरसमेत वृद्धि गर्ने उनको भनाइ छ।

चिसोबाट हुने सम्भावित जोखिम कम गर्न मन्त्रालयले धुवाँ–धुलोबाट जोगिन, न्यानो लुगा लगाउन, पोषणयुक्त सन्तुलित भोजन गर्न र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। साथै, भिटामिन ‘सी’ प्रशस्त पाइने सुन्तला, कागती, अमला, मौसमअनुसारका ताजा फलफूल, सागपात सेवन गर्न र पर्याप्त मात्रामा झोल पदार्थ पिउन पनि सुझाव दिइएको छ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update