NRN
एनआरएनए अष्ट्रेलियाका अध्यक्षका उम्मेदवार ढकालले एडिलेड पुगेर भने — “अष्ट्रेलियालाई नमूना एनसीसी बनाउने लक्ष्य छ ”

- राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष पदका उम्मेदवार भैरवप्रसाद ढकालले एकीकृत एनआरएनए आफ्नो लक्ष्य भएकाले टिम एकतालाई विजयी गराउन आग्रह गरेका छन् । एडिलेडमा सोमवार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आफूले नेतृत्व गर्न खोजेको एनआरएनएको स्पष्ट खाका प्रस्तुत गरेका छन् । उनले एनआरएनए अष्ट्रेलियालाई नमूना एनसीसी बनाएर विश्वमा उदाहरण प्रस्तुत गर्ने बताएका छन् । “अष्ट्रेलियालाई नमुना एनसीसी बनाएर बाँकी ९० देशमा रहेको एनसीसीका लागि मार्गदर्शक बनाउनु हाम्रो लक्ष्य हो,” ढकालले भने ।

ढकालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को मेरुदण्ड राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नै भएको उल्लेख गर्दै भने, “एनसीसी बलियो भयो भने मात्र आईसीसी मजबुत बन्छ भन्ने गहिरो अनुभूति मैले गरेको छु ।” एनसीसीमार्फत प्रवासमा रहेका नेपालीहरुको समस्या सुन्ने, समाधान खोज्ने र सबैलाई एकीकृत गर्ने संस्थागत उद्देश्य आफूले बोकेको उनले बताए । उनले थपे, “युनिफाइड एनआरएनए बनाउनु हाम्रो प्रमुख उद्देश्य हो। अग्रजहरुले दिएको योगदानप्रति कृतज्ञ रहनुपर्छ । हाम्रो अभियान भनेकै एकता, समावेशिता र संस्कृति जोगाउनेतर्फ केन्द्रित हुनेछ ।”

ढकालले एनआरएनएले नेपालबाट आउने नयाँ प्रवासीहरु र अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्दै आएका नेपालीहरुलाई जोड्न पुलको काम गर्ने बताए । “संगठनमा एकताको भावना भित्र्याउन, विभिन्न राज्यका नेपाली संघसंस्थाहरुलाई समेट्न हामीले स्पष्ट कार्ययोजना बनाएका छौँ,” उनले बताए । राज्यस्तरीय काउन्सिलहरुलाई सशक्त बनाउन तालिम, नीति निर्देशन, उर्जा र स्पष्ट मार्गदर्शन दिने योजना रहेको उल्लेख गर्दै ढकालले स्थानीय सरकारसँग सहकार्य गरेर नेपाली समुदायका आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्कृति संरक्षणका लागि भाषा कक्षा सञ्चालन, सामुदायिक परियोजनालाई सहयोग गर्ने प्रोजेक्ट फण्ड स्थापना, युवाहरुलाई समेट्ने र उनीहरुलाई नेतृत्वमा ल्याउने कामलाई आफूले प्राथमिकतामा राखेको बताए । “युवा भनेकै हाम्रो मेरुदण्ड हुन्,यहाँ जन्मिएका र नेपालबाट अध्ययनका लागि आएका युवाबीच समन्वय गराउन सके एनआरएनएको भविष्य बलियो बन्छ,” ढकालले भने । कार्यक्रममा सहभागी नेपालीहरुले ढकालको स्पष्ट दृष्टिकोण र संगठन निर्माणको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update