NRN
एनआरएनए चुनाव अभियान तीब्र बनाउँदै अध्यक्षका उम्मेदवार ढकाल : चर्चा चुलिंदै

- राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको अध्यक्ष पदका उम्मेदवार रहेका भैरवप्रसाद ढकालले चुनावी अभियानलाई तीब्र बनाएका छन् । उनी आफ्नो पक्षमा माहोल बनाउनका लागि अष्ट्रेलियाका विभिन्न शहर दौडाहमा होमिएका छन् । उनी आइतबार आफ्ना मतदाताका प्रतिक्रिया लिन र आफ्नो प्रतिवद्धता सुनाउनका लागि ब्रिसबेन पुगेका छन् । ब्रिसवेन विमानस्थलमा अवतरणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ढकालले आफू अत्यन्त उत्साहित भएको र समुदायका नेताहरूको हार्दिक स्वागतले आफू प्रभावित भएको बताएका छन् । आगामी निर्वाचनका सन्दर्भमा स्थानीय समुदायका नेताहरू तथा एनआरएनए सदस्यहरूसँग भेटघाट गरी आफ्ना विचार, एजेण्डा तथा प्रतिवद्धता साट्दै उनीहरूको प्रतिक्रिया लिन पाउने अवसरप्रति आफू उत्साहित रहेको ढकालले बताएका छन् ।

ढकाल सिड्नी, क्यानवेरा, मेलबर्न, डार्विनलगायतका शहरमा एनआरएनए अग्रज तथा सदस्यहरूसँग भेटघाट गरी आफ्ना विचार, एजेण्डा तथा प्रतिवद्धता साट्न पुग्ने कार्यक्रम रहेको छ । आगामी निर्वाचनका सन्दर्भमा ढकालले अष्ट्रेलियावासी समक्ष भनेका छन् “यो केवल निर्वाचन मात्र होइन, एनआरएनए अष्ट्रेलियाको लागि एक निर्णायक मोड हो,।” उनले एनआरएन प्रतिको विश्वास पुनःस्थापना, एकताको पुनर्निर्माण र संगठनको मिशनलाई पुनः केन्द्रित गर्ने अठोट व्यक्त गरेका छन् ।

आफू प्रमाणित सामाजिक कार्यकर्ता भएको बताउँदै ढकालले एनआरएनएमा आफ्नो योगदान र अनुभवलाई स्मरण गराएका छन् । ढकाले आफ्ना प्रतिवद्धतामा समुदायको सक्रिय सहभागिता र समावेशी बहसको प्रवद्र्धन, विश्वव्यापी प्रभाव निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य, शिक्षा, सीप, रोजगारी र आप्रवासन सम्बन्धी विषयमा कार्यक्रम सञ्चालन गर्ने जस्ता उल्लेख गरेका छन् । एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हालेका ढकालले अष्ट्रेलिया तथा विश्वभरका नेपाली डायस्पोरामा लामो अनुभव बटुलेका छन् ।

उनले भनेका छन्–“विश्वसनीय, जवाफदेही र जनमुखी नेतृत्वका लागि मलाई भोट गर्नुहोस् । विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवा र स्वदेश तथा विदेशका नेपालीहरूको हितमा काम गर्ने एनआरएनएको लागि म प्रतिवद्ध छु ।”

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) मा हाल उनी सल्लाहकारको भूमिकामा छन् । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष, सल्लाहकार, ग्लोबल च्यारिटी टास्कफोर्स तथा वैदेशिक रोजगार समितिमा सह–अध्यक्षका रूपमा समेत उनले योगदान पुर्याएका छन् । समुदाय र नागरिक नेतृत्वमा समेत ढकालको सक्रियता उल्लेखनीय रहेको छ । पर्थ, पश्चिम अष्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका उनी सफल व्यवसायी बनेर सम्मानित आवाजका रूपमा परिचित छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update