
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदैछ । देशभित्र र देशबाहिर पनि विभिन्न कार्यक्रम गरी आदिकविको ११२ औं जन्मजयन्ती मनाइन्छ ।
भानुभक्तको जन्मजयन्ती देशबाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ ।
काठमाडौंमा आइतबार बिहानै आदिकविको जन्मजयन्ती मनाइएको छ । बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ ।
माल्यार्पणपश्चात प्रभातफेरि गरी भानुभक्तको सम्झना गरिएको छ ।
माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए । प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए ।