
- राजन घिमिरे
‘चेलीबेटीको पीडा सुन्ने कान थिएनन्, म त्यही भएर बोल्न थालेँ।' – यी शब्दहरू केदार रायमाझीका हुन् । नेपालका विकट गाउँदेखि सिड्नीको शहरी परिवेशसम्म, उनको परिचय एउटै छ –समाज सेवा । उनी बिशेषत जीबन रायमाझीको नामले चिनिने गर्छन ।
२०७१ को दशकमा नेपालमा चेलीबेटी बेचबिखन, घरेलु हिंसा, तथा महिला र बालबालिकामाथिका अत्याचारहरू विरुद्ध काम गर्दै गर्दा केदार रायमाझी (जीवन) चर्चसँग समेत जोडिएका थिए । उनी त्यतिबेला मानव बेचबिखनविरुद्धका अभियानमा समुदायमै पसेर काम गर्थे – कहिले किशोरीहरूको पुनर्स्थापनामा, कहिले गाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै ।
त्यही पृष्ठभूमिबाट आएका रायमाझी सन् २०१८ मा अष्ट्रेलिया छिरे । अहिले उनी सिडनीको ओबर्नमा अवस्थित गष्पेल नेपाली चर्चमा पाष्टरको ओहदामा सेवा गरिरहेका छन् । यहाँ पनि उनले आफ्नो परिचय परिवर्तन गर्नुपरेन – उनी त्यही सामाजिक कामका लागि परिचित र लोकप्रिय भएका छन् । यिनै ब्यक्तित्वले यस पटक २०२५-२०२७ को लागि एनआरएनए अष्ट्रेलियाको एनसीसी सदस्य पदमा उम्म्मेदवारी दिएका छन ।
'देश फरक भयो, तर पीडितको पीडा उस्तै लाग्थ्यो,' उनी सम्झन्छन्, 'अष्ट्रेलियामा आएपछि लाग्यो, यहाँ पनि हाम्रो समाजका थुप्रै घाउहरू ढाकिएका छन्, देखिने छैनन् तर अनुभव गर्न सकिन्छ ।'
अरवान क्षेत्रमा परिवारसहित बस्दै आएका रायमाझी – पत्नी सुरक्षा, छोरी जोवाना (९ वर्ष), छोरा जेसन (डेढ वर्ष) सँगै – नेपाली समुदायका सामाजिक संकटमा साथ दिने व्यक्तिका रूपमा परिचित छन् । घरेलु हिंसाबाट पीडित महिला, आप्रवासी समस्यामा परेका नयाँ नेपाली विद्यार्थी वा पारिवारिक समस्यामा परेका व्यक्तिहरू – सबैका लागि उनी पहिले सल्लाहकार बन्छन्, अनि सहयोगी ।
उनले स्थापना गरेको Global Gospel Ministry र नेतृत्वदायी भूमिका खेलेको Gospel Nepali Church जस्ता संस्था अहिले संकटमा परेका नेपालीहरूका लागि मनोपरामर्श, आवास, सहयोग र कानुनी सहायता जुटाउने केन्द्र बनेका छन् । केदार रायमाझी मात्र सामाजिक सेवामा सीमित छैनन् – उनी Bachan News Australia का सम्पादक तथा प्रकाशक पनि हुन् ।
मिडियालाई उनले आवाजविहीनहरूको आवाज बनाउने माध्यमको रूपमा हेर्छन् । 'सामाजिक सेवा सडकमा मात्रै होइन, समाचारमा पनि हुनुपर्छ,' उनी भन्छन् । गत वर्ष उनले “Living for Others Award” प्राप्त गरे । यो अवार्ड सेवा कार्यप्रति उनी समर्पित रहेको मान्यता स्वरूप प्रदान गरिएको थियो । उनको सेवा नेपाल embassy, एनआरएनए, ANJA, NAYA, र अन्य धेरै सामुदायिक संस्थासँगको सहकार्यमा अझ विस्तार हुँदै गएको छ ।
रायमाझी नेपाल सितोरियो करातेका पुर्व प्रशिक्षक पनि हुन । हाल उनी घरेलु हिंसाविरुद्ध जनचेतना अभियानमा क्रियाशील छन् ।
'एकपटक पीडितसँग भेट भयो,' उनी भन्छन्, 'उनले भनिन् – ‘धन त थियो, तर साहारा थिएन ।’ त्यो दिनदेखि मैले ठानेँ, म साहारा बन्ने प्रयास गर्छु ।' केदार रायमाझीको यात्रा कुनै ठूला पदका लागि होइन, न त प्रचारको लागि । उनी भन्छन् – 'सेवा गर्दा फोटो खिच्न नभ्याउँछु, तर आँसु पुछ्न भ्याउँछु ।' नेपालदेखि अष्ट्रेलियासम्म समाजको परिवेश फेरिए पनि, रायमाझीको काम र चिनारी उस्तै छ – सेवाले चिनाएको मान्छे ।