NRN
१२ वर्षअघि स्मार्टफोन दिनु हानिकारक: एक अध्ययन

काठमाडौं । बालबालिकालाई कुन उमेरमा स्मार्टफोन दिने भन्ने विषयमा अभिभावकहरू द्विविधामा परिरहेका बेला एक नयाँ अध्ययनले १२ वर्षभन्दा अघि स्मार्टफोन दिनु उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुनसक्ने निष्कर्ष निकालेको छ। सोमबार चिकित्सा जर्नल पेडियाट्रिक्स मा प्रकाशित र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले उल्लेख गरेको उक्त अध्ययनअनुसार १२ वर्षको उमेरअघि नै स्मार्टफोन पाएका बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम बढी देखिएको छ। अमेरिकामा १० हजार ५०० भन्दा बढी बालबालिकाको तथ्यांक विश्लेषण गरेर सञ्चालित 'एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी' ले यो निष्कर्ष निकालेको हो।

अध्ययनकर्ता तथा फिलाडेल्फिया बाल अस्पतालका मनोचिकित्सक डा. रान बार्जिलाय का अनुसार १२ वर्षभन्दा कम उमेरमै स्मार्टफोन पाएका बालबालिकामा उमेर बढ्दै जाँदा निद्रासम्बन्धी समस्या र मोटोपनको जोखिम झनै बढ्ने देखिएको छ। अन्य असर: अनुसन्धानकर्ताहरूले १२ वर्षसम्म स्मार्टफोन नपाएका बालबालिकामध्ये एक वर्षपछि फोन पाएकाहरूमा समेत मानसिक स्वास्थ्य र निद्रा बिग्रने अवस्था बढी देखिएको बताएका छन् । यद्यपि, यो अध्ययनले स्मार्टफोन नै समस्याको एकमात्र कारण हो भन्ने प्रत्यक्ष प्रमाण भने नदेखाएको वैज्ञानिकहरूले स्पष्ट पारेका छन्। तर, बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा यसको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। ब्राउन युनिभर्सिटीकी सह-प्राध्यापक ज्याक्लिन नेसी ले यस अध्ययनले प्रत्यक्ष कारण–परिणाम प्रमाणित नगरे पनि अभिभावकहरूलाई बालबालिकालाई स्मार्टफोन ढिला दिन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन्।

स्मार्टफोन प्रयोग गर्ने बालबालिका प्रत्यक्ष सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्राबाट टाढा हुने सम्भावना बढी हुने देखिएको छ। हाल अमेरिकी किशोराहरूको लगभग सबैले स्मार्टफोन प्रयोग गर्ने गरेको तथ्यांक पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको छ। अध्ययनअनुसार बालबालिकाले पहिलोपटक स्मार्टफोन पाउने औसत उमेर ११ वर्ष देखिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update