NRN
रबिले पदको अहंकार देखाएनन्, बरु देश दुख्दा आफू पनि दुख्ने भावनासहित संवादको आवश्यकता औँल्याए।

बुधबार सिंहदरबारको एउटा हलमा नेपाली राजनीतिमा एउटा फरक दृश्य देखियो। सामान्यतया सत्ता पक्षले बैठक बोलाउने र प्रतिपक्षले आलोचना गर्ने नेपलको राजनीतिक संस्कार रहँदै आएको छ। तर यसपटक दृश्य केही फरक थियो। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाहको मौनता र निष्क्रियताबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संवादको पहल लिएर अगाडि आए।

सुनसरीमा भइरहेको अशान्ति र हिंसाको अवस्था नियन्त्रण गर्न लामिछानेले देखाएको सक्रियताले उनलाई केवल एउटा दलका सभापति मात्र नभई जिम्मेवार र संवेदनशील अभिभावकका रूपमा पनि प्रस्तुत गरेको छ। “फलेको हाँगो नझुकेको कहाँ छ र” भन्ने उखानलाई चरितार्थ गर्दै लामिछानेले देखाएको शालीनता र त्यागको अहिले चौतर्फी प्रशंसा भइरहेको छ। सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा जब लामिछानेले आफ्नो मन्तव्य सुरु गरे, हलमा गम्भीर वातावरण सिर्जना भयो। उनले कुनै पदको अहंकार देखाएनन्, बरु देश दुख्दा आफू पनि दुख्ने भावनासहित संवादको आवश्यकता औँल्याए।

सुनसरी हिंसा जस्तो संवेदनशील विषयमा सरकार मौन रहँदा एउटा दलका सभापतिले सबै दलका शीर्ष नेताहरूलाई एउटै टेबलमा ल्याउनु आफैंमा महत्वपूर्ण पहल थियो। उनले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिका रूपमा प्रस्तुत गरेनन्, बरु साझा प्रयासका रूपमा अगाडि बढाए। यही कारण बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मले लामिछानेको पहलको प्रशंसा गरे। उनीहरूले महसुस गरे कि राजनीति केवल सत्ता प्राप्तिको खेल होइन, संकटको समयमा देखाउने सक्रियता र संवेदनशीलता पनि हो।

नेपाली कांग्रेसका सभापति गगन थापाले बैठकमा लामिछानेको पहललाई धन्यवाद दिँदै प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। थापाको भनाइमा एउटा गम्भीर प्रश्न लुकेको थियो, जुन काम मुलुकको प्रधानमन्त्री वा गृहमन्त्रीले गर्नुपर्ने थियो, त्यो काम एउटा पार्टी सभापतिले गरिरहनुभएको छ। यो घटनाले एउटा सन्देश दिएको छ, सत्ता हातमा नभए पनि जनताको विश्वास जित्न सकिन्छ। रवि लामिछानेले देखाएको संयमित र संवादमुखी शैलीले पुराना तथा अनुभवी नेताहरूलाई समेत प्रभावित पारेको छ। त्यसैगरी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि लामिछानेको पहलको प्रशंसा गरे। प्रचण्डजस्तो अनुभवी नेताले नयाँ दलका सभापतिको पहललाई धन्यवाद दिनु आफैंमा अर्थपूर्ण विषय हो। प्रचण्डले स्पष्ट रूपमा भने कि सुनसरी घटनाको समाधान गर्ने मुख्य जिम्मेवारी सरकारकै हो। तर सरकार सक्रिय नहुँदा भए पनि लामिछानेले सबै पक्षलाई संवादको टेबलमा ल्याउने काम गरे। यहाँ रवि लामिछाने एउटा त्यागी नेताका रूपमा देखिए, जसले जस पाउने उद्देश्यले होइन, देशमा शान्ति कायम गर्ने उद्देश्यले संवादको सुरुवात गरे।

उनको यो कदमले राजनीतिमा अहंकारभन्दा सेवा र समन्वयको महत्व बढी हुन्छ भन्ने देखाएको छ। मधेस केन्द्रित दलका नेता महन्थ ठाकुरको अभिव्यक्तिले पनि परिस्थिति कति गम्भीर थियो भन्ने देखायो। मधेसबाटै प्रधानमन्त्री बने पनि मधेसकै समस्यामा सरकारको पर्याप्त ध्यान नपुगेको भन्दै असन्तुष्टि बढिरहेका बेला लामिछानेको समन्वयकारी भूमिकाले आशाको संकेत दिएको छ। ठाकुरले प्रहरीको बल प्रयोग र सरकारी पहलको अभावप्रति चिन्ता व्यक्त गरे। त्यसलाई समाधानतर्फ लैजान लामिछानेले गरेको प्रयासले सकारात्मक वातावरण बनाएको छ।

प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जाल केन्द्रित प्रतिक्रियाभन्दा फरक रूपमा लामिछानेले प्रत्यक्ष संवादलाई प्राथमिकता दिए। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि लामिछानेको पहलको प्रशंसा गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाए। राउतका अनुसार यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्री वा कम्तीमा गृहमन्त्रीको उपस्थिति आवश्यक थियो। तर त्यो भूमिका रवि लामिछानेले निर्वाह गरे।

प्रधानमन्त्रीको एउटा स्पष्ट धारणा मात्रले पनि तनाव कम हुन सक्ने अवस्था हुँदाहुँदै मौनता कायम रहँदा समस्या थप जटिल बन्न सक्ने उनको भनाइ थियो। यस घटनाले एउटा कुरा स्पष्ट पारेको छ, नेतृत्व भनेको सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु मात्र होइन, कठिन समयमा जनतामाझ पुगेर संवाद गर्नु र समाधान खोज्नु पनि हो। रवि लामिछानेको यो शैलीले उनलाई नेपाली राजनीतिमा संवाद, समन्वय र संवेदनशीलताको पक्षधर नेताका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update