
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटल मर्क्युरमा सम्पन्न भएको छ ।
कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई समारोहमा विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो । लोकसंगीत, सञ्चार तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ गायिका सुनिता लुइटेललाई “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान–२०२६” प्रदान गरिएको थियो भने भजन गायक रेशम सापकोटालाई “संगीत रत्न सम्मान” द्वारा सम्मानित गरिएको थियो । पत्रकारिता क्षेत्रमा चलचित्र पत्रकार उदयराज शर्मालगायतका विशिष्ट व्यक्तित्वहरूलाई “पत्रकारिता विशेष सम्मान” प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो ।
चर्चित अभिनेता तथा मोडल पल शाहलाई ुग्लोबल स्टार अफ द डिकेडु (मोडल) अवार्ड प्रदान गरिएको थियो भने , यम बराल, रमेश बुढाथोकी, यमन श्रेष्ठ सिनेमाटोग्राफर रुपेश थापा, चलचित्र सम्पादक तथा ट्रेलर डिजाइनर साहिल खानलगायत विभिन्न कलाकार तथा स्रष्टाहरूलाई पनि फरक–फरक विधामा सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ अभिनेता तथा चलचित्र निर्देशक नीर शाह तथा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, वरिष्ठ पत्रकार विदुर गिरीलगायतको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथि निर शाहले पर्फमिङ आर्टमा योगदान पुर्याउने सबै कलासाधकलाई स्मरण गर्दै उनीहरुको सम्मानबाट कला क्षेत्रले निरन्तरता पाउन र नया पुस्तासम्म पुर्याउन सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
अवार्ड समारोह आयोजक समितिका अध्यक्ष चर्चित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे रहेका थिए भने कार्यक्रम निर्देशकका रूपमा राजेन्द्र लुइटेलको भूमिका रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तथा रेडियो प्रस्तोता प्रियंका प्रसाईले गर्नुभएको थियो ।


