NRN
बिदुषी राणालाई  किन गाली….?

- राजन घिमिरे
सामाजिक सन्जाललाई पत्रकारिताको नाम दिएर यतिबेला आफ्नो नाम र चर्चालाई ख्याति दिलाउन उद्दत केहीहरूका कारण सांच्चिकै पत्रकारिता गर्नेहरू पनि अफ्ठेरोमा पर्न थालेका छन । पत्रकारितामा लामो यात्रा पार गरेर कपाल फुलाई सकेकाहरु गुमनाम छन, तर सामाजिक सन्जाललाई पत्रकारिता ठानेर बजार ततांउनेहरूको जमात बढिरेहेको आजको समयमा माईक पाउंना साथ तथानाम भन्दै अरूको खिल्ली उडाउंदै र बिना अध्यन अनि बिगत बारे थाहा नै नभएकाहरूले माईकबाट तथानाम मूल्यांकन गर्दै चिरफार गरेको कति सुहाउंला ?

सामाजिक सन्जालमा केबल नेगेटिब बिक्ने र यस्तै यस्तै हेर्न , सुन्न र पढ्न चाहनेहरूबाट त वाहवाही कमाईएला तर तपाई जसको खिल्ली उडाउंदै सस्तो चर्चाको लागि माईकको दुरूपयोग गरेको बास्तबिकता धरातलमा आएपछी तपाईको कार्यमाथि प्रश्न चिन्ह उठ्दा के होला ? अरूलाई चिच्याई चिच्याई प्रश्न उठाउंने तपाईमाथि नै प्रश्न उठ्दा तपाईको हालत के होला ? यस तर्फ खै तपाईहरू जिम्मेवार देखिएको ? भिउज बढ्ने र केही समय ताली पाउने लोभमा एक पोटकाष्टमा सफल महिला ब्याबसायी एबं रास्वपाका सासंद बिदुषी राणाले चढेको गाडीको बारेमा नेगेटिब सन्देश प्रबाह गर्दा ति पोटकाष्ट सन्चालकमाथि यतिबेला गाली गलौजको बर्षा मात्र भएको छैन कि , बिना अध्यन र बिगतको बारेमा जानकारी नै नलिई अरूको बारेमा बोल्दा वा समाचार संप्रेषण गर्दा ध्यान दिनु पर्छ भन्ने शिक्षा पनि मिलेको हुनु पर्छ ।

बिदूषी राणा - जसको बिगत र बर्तमान नै शान र मानका साथ बढ्यो । उनको लागि गाडी चढ्नु वा सुख सयलको जिबन सपना होइन । जो गोल्ड स्टार नेपालकी प्रमुख हुन । उनले गाडी चढ्नुलाई ठूलो इष्यू बनाएर समाचार संप्रेषण गर्नु भनेकै मूख्याई हो । गाडी चढ्नु , राम्रो लुगा लगाउनु वा चिटिक्क परेर हिड्नेलाई गलत नजरले हेर्ने र त्यस्तो कुरालाई बढाई चढाई गरेर भाईरल बनाउने सोचना परिबर्तन नआएसम्म ब्याबसायी र ब्यापारा अनि लगानीकर्ताको मनोबल कहिले पनि उचो नहुने कुरामा दुईमत नहोला ।

बिदुषी राणाकै कुरा गर्ने हो भने उनी एक साथ १० वटा मात्र होइन कि हरेक दिन नयां नयां गाडी फेरि फेरि चढ्न सक्ने हैसिएत राख्छिन । तर उनले कहिले पनि यो कुरामा घमण्ड देखाएको कतै पाईदैन । अनि अर्को कुरा , उनि रास्वपाको सांसद भएपछि मात्र शानका साथ गाडी चढेर हिडेकी होइनन् । जन्मना साथ गाडी चढेर हिडने बलियो पारिवारिक पृष्ठभूमि भएकी महिला हुन बिदूषी ।

बिदूषीले कति नेपालीवाई रोजगारी दिईन ? नेपाली उत्पादन गोल्ड स्टार आज कुन कुन देशमा पुग्छ ? त्यसबारे हामीले कहिले पनि चर्चा गरेनौ , न त त्यस तर्फ ध्यानै दियौं । यो कुराको चर्चा किन गरेनौ कि यस्ता पोजेटिब जानकारी हेर्ने , पढ्ने र सु्न्ने नै छैनन भनेर हामी पन्छिन थालेका छौं । हामी त ठूला आबाजले बोल्ने , अरूलाई गाली गरेको , नराम्रो भनेको र अरूको खिल्ली उडाउंने समाचार बनाउनमा नै ब्यस्त छौ अनि पाठक, दर्शक र श्रोताहरूको नाममा गलत जानकारी पस्किन यति अभ्यस्त भयौं कि अब त सालिन तरिकाले कार्यक्रम चलाउंने , अरूको प्रगती र सफलताको कथा भन्न र बोल्न हिच्किचाउन थालेका छौं । यस्तो गलत संस्कारले हाम्रो पत्रकारिता वा सामाजिक सन्जालले समाजलाई कति लांदै छ ?

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update