काठमाडौं । अफगानिस्तानले बिहीबार राति पाकिस्तानविरुद्ध ठूलो सैन्य कारबाही गरेको जनाएको छ। टोलो न्युजका अनुसार तालिबान लडाकुहरूले कुनार क्षेत्रमा गरेको आक्रमणमा ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन् ।
अफगान पक्षले २३ पाकिस्तानी सैनिकको शव आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। साथै, पाकिस्तानी सेनाको एउटा मुख्यालय र १९ वटा सुरक्षा चौकी आफ्नो कब्जामा लिएको पनि बताइएको छ।
अफगानिस्तानका उपप्रवक्ता हमुल्लाह फिटरातले केही पाकिस्तानी सैनिकलाई जीवितै नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनका अनुसार, ठूलो परिमाणमा हतियारसहित एउटा ट्याङ्क र एक हार्वेस्टर समेत कब्जा गरिएको छ।
उता, पाकिस्तानी सञ्चारमाध्यमहरूले पाकिस्तान सरकारले प्रतिकारस्वरूप ‘अपरेसन गजब लिल हक’ सुरु गरेको जनाएका छन् । पाकिस्तानी एयर फोर्सले काबुल र नानगरहर प्रदेशलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी छ।
पाकिस्तानी सरकारी दाबीअनुसार हालसम्म ७२ तालिवानी लडाकु मारिएका छन् भने १२० भन्दा बढी घाइते भएका छन् । थप रूपमा १६ वटा तालिबान चौकी ध्वस्त पारिएको र सातवटा चौकी नियन्त्रणमा लिइएको जनाइएको छ ।


