NRN
बाढीले संसार डुबाउदा नडुबेको प्रेम

कुरा मेक्सिकोको हो । मेक्सिकोको भेराक्रुजमा सन् २०२५ को अक्टोबरमा आएको भीषण बाढीबीच हिलारियो रेयनोसा र एलोडिया रेयेसको प्रेमले संसारको ध्यान तानेको छ। उर्लिएको काजोनेस नदीको पानी घरभित्र पस्दा पौडी खेल्न नसक्ने एलोडिया बाढीको भेलमा बग्न थालिन्। श्रीमतीलाई बग्न नदिन हिलारियो आफ्नै ज्यानको पर्वाह नगरी भेलमा हाम फाले र उनलाई समातेर फर्काए। पानी झन् बढ्दै गएपछि दुवै जना घरको छतमा पुगे।

चारैतिर अन्धकार, पानीको गर्जन र मृत्युको त्रास थियो। तर त्यो रात उनीहरूलाई एउटा कुराले बल दिइरहेको थियो—एकअर्काको अँगालो। कम्मरसम्म पानी पुगिसकेको थियो। रातभर उनीहरू छुटेनन्। न कुनै ठूलो शब्द, न कुनै वाचा—बस् एकअर्कालाई कसिलोसँग समातेर बसे।

बिहान छिमेकी सानो डुंगा लिएर आइपुगेपछि उनीहरू सुरक्षित उद्धार भए।पछि सार्वजनिक भएको उनीहरूको तस्बिरमा बाढीभन्दा ठूलो एउटा कुरा देखियो—बुढ्यौलीले कमजोर बनाएको शरीर, तर वर्षौंको साथले अझ बलियो बनाएको प्रेम। चारैतिर पानी थियो।घर डुबिरहेको थियो।रात कहिल्यै नसकिने जस्तो थियो। तर उनीहरूले एकअर्कालाई छोडेनन्। सायद प्रेमको सबैभन्दा सुन्दर परिभाषा यही हो । जब संसारले साथ छोडेजस्तो लाग्छ, तब पनि एउटा हातले अर्को हात खोजिरहन्छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update