NRN
ट्रम्पविरोधी ‘नो किङ्स’ अभियान अमेरिकामा व्यापक बन्दै

अमेरिकाका विभिन्न शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक ठूला प्रदर्शनहरू भएका छन् । यसअघि पनि लाखौँ मानिस सहभागी भइसकेका यी प्रदर्शनको यो तेस्रो संस्करण हो ।

प्रदर्शनकारीहरूले इरानसँगको युद्ध, कडा आप्रवासन नीति र बढ्दो महँगीविरुद्ध आवाज उठाएका छन् । आयोजकहरूले ट्रम्पले ‘तानाशाहझैँ शासन गर्न खोजेको’ आरोप लगाएका छन् भने ह्वाइट हाउसले यी प्रदर्शनलाई सामान्य भन्दै खारेज गरेको छ ।

शनिबार न्यु योर्क, वाशिङ्टन डीसी र ल एन्जलसलगायत अधिकांश ठूला शहरमा प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

मिनेसोटामा भएको प्रमुख प्रदर्शन विशेष चर्चामा देखिएको छ । जहाँ दुई नागरिकको संघीय आप्रवासन एजेन्टद्वारा हत्या भएपछि देशव्यापी आक्रोश फैलिएका थिए । यसैगरी टाइम्स स्क्वायरमा पनि ठूलो भिड देखिएको थियो । अघिल्लो प्रदर्शनमा करिब ७० लाख मानिस सहभागी भएका थिए ।

ट्रम्प प्रशासनले सत्ता सम्हालेपछि कार्यकारी आदेशमार्फत संघीय संरचना कमजोर बनाएको र राष्ट्रिय गार्ड परिचालन गरेको आरोप लाग्दै आएको छ । आलोचकहरूले यसलाई अमेरिकी लोकतन्त्रका लागि खतरा भनेका छन् भने ट्रम्पले भने आफूले देश सुधारका लागि आवश्यक कदम चालेको दाबी गरेका छन् ।

अमेरिकाबाहिर पनि पेरिस, लन्डन र लिसबनमा रहेका अमेरिकीहरूले प्रदर्शन गर्दै ट्रम्पविरुद्ध नारा लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update