
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। संघको १२औँ बृहद् एकता अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म आयोजना हुने छ। जारी कार्यतालिकाअनुसार दुई वर्षे कार्यकालका लागि ७४ पदमा निर्वाचन हुनेछ।
उम्मेदवारी दर्ता फागुन २२ गतेसम्म भौतिक उपस्थित वा अनलाइन माध्यमबाट गर्न सकिनेछ भने प्रस्तावक र समर्थकसहित सनाखत अनिवार्य गरिएको छ। फागुन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
फागुन २७ गते दाबी–विरोध, मनोनयनपत्र जाँचबुझ तथा उजुरीमाथि निर्णयपछि दोस्रो नामावली सार्वजनिक हुनेछ। फागुन २८ गते उम्मेदवारी फिर्ता लिन सकिनेछ र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ।
फागुन २९ गते अनलाइन मतदानको नमुना निर्वाचन गरिनेछ। फागुन ३० देखि चैत १ गतेसम्म नेपाल बाहिर रहेका मतदाताका लागि अनलाइन मतदान खुला रहनेछ।
नेपालभित्र भने चैत १ गते होटल द सोल्टीमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने छ।


