NRN

fd0fde54-de90-4ce6-bed4-9a726f1eede5-1765971348.jpg
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ बृहत अन्तर्राष्ट्रिय महाधिवेशन नेपालको पर्यटकीय राजधानी पोखरामा आयोजना गर्नुपर्ने प्रस्ताव सार्वजनिक भएसँगै देश–विदेशका गैरआवासीय नेपालीहरूबीच उत्साह र चासो बढेको छ। संघका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य मदनराज पौडेलले केन्द्रीय समिति, काठमाडौंलाई औपचारिक रूपमा प्रस्ताव पेश गर्दै आगामी फेब्रुअरी २३, २४ र २५ मा हुने महाधिवेशन सुन्दर नगरी पोखरामा सम्पन्न गर्न हार्दिक अनुरोध गरेका हुन्। प्रस्तावमा पोखरा भौगोलिक, पर्यटकीय, पूर्वाधार तथा व्यवस्थापनका दृष्टिले महाधिवेशनका लागि सबै हिसाबले उपयुक्त रहेको उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय पाहुनाको स्वागत, आवास, यातायात, सभास्थल तथा समग्र व्यवस्थापनमा पोखराले उच्चस्तरीय क्षमता प्रदर्शन गर्न सक्ने पौडेलको दाबी छ। केन्द्रीय समिति र स्टेरिङ समितिबाट निर्णय भएमा पोखरामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै सरोकारवालासँग समन्वय गरिने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरेका छन्। पर्यटन व्यवसायी, पोखरा महानगरपालिका, स्थानीय प्रशासन तथा नागरिक समाजसँग सहकार्य गर्दै १२औँ महाधिवेशनलाई भव्य, ऐतिहासिक र उदाहरणीय बनाइने उनले बताएका छन्। आगामी स्टेरिङ समितिको बैठकमा अध्यक्षद्वय आदरणीय बद्री केसी र महेश कुमार श्रेष्ठमार्फत उक्त प्रस्ताव पेश गरिदिन आग्रह गर्दै पौडेलले एनआरएनए विश्वभर रहेका ८० लाख नेपालीहरूको साझा चौतारी र साझा मन्दिर भएको उल्लेख गरेका छन्।

यस्तो ऐतिहासिक महाधिवेशन पोखरामा आयोजना हुने निर्णय हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। प्रस्तावमा पोखरावासीहरू महाधिवेशनको स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश समेत समेटिएको छ। प्राकृतिक सौन्दर्य, आतिथ्य संस्कार र पर्यटन पूर्वाधारले सम्पन्न पोखरामा महाधिवेशन आयोजना भए एनआरएनए र नेपालको अन्तर्राष्ट्रिय छविमा थप उचाइ आउने अपेक्षा गरिएको छ। अब सबैको ध्यान एनआरएनए नेतृत्वको निर्णयतर्फ केन्द्रित भएको छ—के १२औँ बृहत अन्तर्राष्ट्रिय महाधिवेशन साँच्चै पोखरामा हुनेछ त? पोखरावासी मात्र होइन, विश्वभरका गैरआवासीय नेपालीहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

 
प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update