
- राजन घिमिरे
नेपाल तराई एसोसिएसन अस्ट्रेलियाको अध्यक्ष रञ्जित शाहको नेतृत्वमा एक प्रतिनिधि टोलीले अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नव नियुक्त नेपाली महामहिम राजदूत चित्रलेखा यादवलाई स्वागत गरेको छ ।
टोलीले राजदूत यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्यो । टोलीले नेपाली दूतावासमा महामहिम राजदूत चित्रलेखा यादव र उहाँका श्रीमान्लाई विशेष स्वागत गरिएको थियो ।
कार्यक्रममा महासचिव विकास झाले यस अवसरलाई अत्यन्तै महत्वपूर्ण मान्दै राजदूतको आगमनले नेपाली समुदायलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष रञ्जित शाहले राजदूत यादवको नियुक्तिलाई अस्ट्रेलियामा रहेका नेपालीहरूका लागि प्रेरणादायक कदमको रूपमा लिँदै नेपाली संस्कृति, मूल्य र पहिचान प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत यादवले सो स्वागत समारोहमा आफूलाई जनाइएको आत्मीयताको लागि धन्यवाद दिँदै समुदायको भावना र अपेक्षालाई उच्च प्राथमिकता दिने बताउनुभयो । साथै, उहाँले दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता पनि जनाउनुभयो ।