NRN
बाढीबाट घरबारविहीन भएका परिवारलाई राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा सहयोग

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीबाट घरबारविहीन भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।  विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदीप अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

राहत हस्तान्तरण कार्यक्रममा नानका अध्यक्ष प्रदीपप्रसाद कोइरालाले विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। प्राकृतिक विपद्को कठिन अवस्थामा पीडित परिवारको दुःखमा केही भए पनि राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको उनको भनाइ थियो।

‘सेवा नै धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै नानले आगामी दिनमा पनि मानवीय तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिलाई निरन्तरता दिने अध्यक्ष कोइरालाले प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृतकुमार पन्थी, कोषाध्यक्ष अरुण अर्याल, कार्यसमिति सदस्य अदिप पाठकलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

संघले प्रभावित परिवारका लागि १५० थान झुल, ६२० थान जुत्ता–चप्पल, १५० थान ब्ल्यांकेट र १५० थान भाँडाकुँडा हस्तान्तरण गरेको छ। भाँडाकुँडामा थाल, कचौरा र गिलास रहेका छन्।

राहत सामग्री ग्रहण गर्दै कविन्द्र अधिकारीले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकका लागि सहयोग उपलब्ध गराएकोमा राष्ट्रिय विज्ञापन संघ नेपालप्रति आभार व्यक्त गरे। उनले प्राप्त राहत सामग्रीले बाढी प्रभावित परिवारलाई आवश्यक सहयोग पुग्ने बताए।

 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update