NRN
सर्वस्व गुमाएकालाई यू टुबेहरूको प्रश्न…कस्तो लागेको छ…?

काठमाडौ, कुरा वा प्रसंग बाढी पिडित र यू टुबरको । यू टुबर पनि कसरी भन्नु ? यिनीहरूको सोच, मानसिकता अनि जसरी भएपनि भिउज बढाएर डलरको खेती गर्ने जमातलाई के यूटुबर भन्नु । यिनीहरू त यतिबेला यूटुबे बनिसकेका छन । यिनीहरू अरूको आँशुमा डलर देख्छन । अरूको पिडा , रोदन, ब्यथा र अरूले सर्वस्व गुमाएको भिडियो खिच्न पाईयो भने आफ्नो सफलता र बहादुरी ठान्छन । यिनीहरू अरूको पिडा र रोदनलाई कम गराउन सुझाब र सल्लाह दिंदैनन । यिनीहरू त अरूलाई जति धेरै रूवाउन सके र चिच्याउंन लगाउन सके त्यति नै आफ्नो महान कार्य ठान्छन ।

यतिबेला बाढी पिडित क्षेत्रमा हुल बांधेर पुगेका ( अब कति महिना त्यतै बास बस्ने हुन त्यो निश्चित छैन ) हरूको चर्तिकला देख्दा युटुबेहरूको मन र भाबना हुंदैन हो भन्ने प्रश्न सोध्न मन लाग्छ । यो भिडमा सही यूटुबरहरू पनि नभेटिएका होइनन् तर, जमात खराब नियत भएकाहरूको ठूलो छ । जसको कमाउ धन्धा नै अराजकता , रोधन , पिडा , ब्यथा र बिजोग देखाउनु मात्र छ । बिचरा बाढी पिडितहरूरो रोदन बेचेर डलर हात पार्नेहरू कसैले पिडितलाई एक पैसा सहयोग गरेको सुनिएको छ त ? छैन । जसले गांस बांस र सर्वस्व गुमाएका छन, अनि यूटुबेहरू यस्तो बेला पिडितहरूलाई नै सोध्छन -‘ कस्तो लागि रहेको छ -‘ ? हरे राम यिनीहरूको सोच र बुद्दी कति निकृष्ट, दरिद्र र तुच्छ है ।

यस्तो पिडादायक अबस्थामा यस्तो प्रश्न सोधेर दुखेको घाउमा नून थप्ने कि सान्त्वना र ढाडस दिने ? यतिसम्म थोरै भाबना र मनकारी सोच नभएकाहरूबाट नेपाली समाजले कहिले सकारात्मक प्रतिफल पाउला…? हुन त दशैं आउन केही दिन बाँकी छ, तर बाढी पिडित क्षेत्रमा पुगेका यूटुबेहरूलाई अहिले नै दशैं आएको छ ।यही बेला हो डलर झार्ने र भ्यूज बढाउंने भन्ने सोचेर कसले कति रूवाउंने अनि बिजोग र बेहाल देखाउंने भन्ने प्रतिस्पर्धा यूटुबेहरूबीच नै चल्न थालेको छ ।

जे भयो भैसक्यो । अब कसरी अगाडि बढ्ने ? सरकारी कामकाज कसरी अगाडि बढेको छ ? पिडितहरूलाई सामान्य जिबनमा फर्काउंन कसरी सकिन्छ वा सम्बन्धित पक्षलाई के कस्ता सुझाब र सल्लाह दिन सकिन्छ भन्ने सकारात्मक भिडियो बनाउंने सोच र बिचार त यिनीहरूको दिमागमा नै छैन । घटना हुनु भन्दा पहिला नै पुगेर समाजमा नकारात्मक सन्देश प्रबाह गर्न सक्नुलाई नै यिनीहरू आफ्नो क्षमता, दक्षता र गौरब ठान्छन । पिडितलाई झनै पिडित बनाउंने सोच र कथा बुनेर त्यस अनुसारको भिडियो कल्पना गरेर यू टुबमा अपलोड गर्न पाईयो भने ठूलै यूद्द जिते जस्तो लाग्ने यूटुबेहरुको सोच र मानसिकतामा कहिले पनि परिबर्तन आउंने देखिंदैन ।

पिडा , दुख र ब्यथा पोखिरहेकी चेलीको शरिरभरि माईक जोडेर उनको आंशु र दुखको ब्यापार गर्नेले एक पैसा सहयोग गरेको र त्यो पिडामा मल्हम लगाएको सुनिएन । अहिले केही यूटुबेहरू त आफ्ना ओढ्ने ओछ्यान बोकेर बाढी पिडित भएका स्थानमा भिडियो बनाउंन धर्ना नै कसेर बसेका छन ।

कसलाई रूवाउन सकिन्छ ? कसले कति गाली गर्छ ? कसलाई कस्तो प्रश्न सोधेर रूवाउन सकिन्छ र त्यो भिडियो अपलोड गर्न सकिन्छ । यिनीहरूको नजर, ध्यान र सोच नै आँशु , पिडा, दुख र ब्यथा बेच्नुमा नै छ र यिनीहरू यसैलाई आफ्ना पौरख र गौरब ठान्छन ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update