काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य सुरुवात भएको छ। नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधि, सवारी साधन र यससँग सम्बन्धित बहुआयामिक विषयहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ नाईमा नेपालकाे आयोजनामा उक्त एक्स्पो सुरु भएको हो ।
मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य संयुक्त रुपमा एक्स्पोको औपचारिक उद्घाटन गरे । साउन ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा चारपाँग्रे, दुईपाँग्रे र व्यावसायिक सवारीका ५५ भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने नाइमा नेपालले जनाएको छ ।
द्घाटन समारोहमा उद्योग वाणिज्य क्षेत्रमा सबैजसो महासंघका प्रतिनिधि, यातायात व्यवस्था विभागका महानिर्देशक लगायत समेत सहभागी थिए । उनीहरुले नेपालको अटो क्षेत्रका लागि एक्स्पोको महत्त्वपूर्ण योगदान रहेको बनाएका थिए ।
उनीहरुले अर्थतन्त्रको सुधार, सडक तथा यातायात सुरक्षा एवं वातावरण संरक्षणका विषयमा समेत एक्स्पोको भूमिका हुने बताएका थिए ।
मोबिलिटी विलासिता होइन, विकासको आवश्यकता हो
उद्घाटन समारोहमा बोल्दै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिइन्।
‘मोबिलिटी भनेको गाडी मात्र होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी, बजार र अत्यावश्यक सेवाहरूमाथिको पहुँच हो,’ वैद्यले भनिन्, ‘त्यसैले सवारी साधनलाई विलासिताको वस्तु वा सरकारको राजस्व संकलन गर्ने मुख्य स्रोतका रूपमा मात्र हेरिनु हुँदैन, यो राष्ट्रिय विकासको अभिन्न अंग हो।’
एक वर्षअघि मात्र २१ सदस्यबाट सुरु भएको नाइमामा हाल ३६ वटा कम्पनी आबद्ध भइसकेको जानकारी दिँदै उनले नेपालको यातायात क्षेत्र तीव्र रूपमा विद्युतीय (ईभी) र हाइब्रिड प्रविधितर्फ गइरहेको बताइन्।
‘हामी हरित अर्थतन्त्र निर्माणमा सरकारलाई सघाउन तत्पर छौं। तर, सरकारले पनि नीति निर्माण गर्दा उद्योगी व्यवसायीसँग पूर्वछलफल गर्नुपर्छ। नीतिहरू स्थिर र अनुमानयोग्य हुनुपर्छ। अचानक गरिने नीतिगत परिवर्तन र भूतप्रभावी निर्णयहरूले लगानीको वातावरण बिगार्छ,’ उनले स्पष्ट पारिन्।
नेपालमै एसेम्बल प्लान्ट सफल बनाउन अटो कम्पोनेन्ट उत्पादन गर्ने सहायक उद्योगहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने, ब्याट्री रिसाइकल नीति ल्याउनुपर्ने र इथानोल ब्लेन्डिङको सम्भाव्यतामा काम गर्नुपर्नेमा वैद्यले जोड दिइन्।
सरकारको नीतिप्रति उद्योगी–व्यवसायीका असन्तुष्टि
कार्यक्रममा उपस्थित नेपालका प्रमुख छाता संगठनका अध्यक्षहरूले अटोमोबाइल क्षेत्रलाई सरकारले केवल 'दुहुनो गाई' बनाएको भन्दै तीव्र असन्तुष्टि पोखे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले संसारकै सबैभन्दा उच्च भन्सार दर नेपालमा रहेको भन्दै सरकार सधैं राजस्वमुखी मात्र भएको गुनासो गरे ।
‘विगत २०–२५ वर्षमा काठमाडौंमा सवारी साधनको चाप अत्यधिक बढ्यो, तर सडक विस्तार कति भयो? सडक विस्तार गर्ने, फ्लाईओभर बनाउने कुराहरू राजनीतिक परिवर्तनपछि मात्र सुनिन्छन्, व्यवहारमा लागू हुँदैनन्,’ श्रेष्ठले भने। उनले अटोमोबाइललाई झन्झन् विलासी वस्तुको रूपमा हेरेर बजेटमार्फत निरन्तर कर थुपार्ने काम मात्र भएको बताए।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले समग्र अर्थतन्त्रको मन्दीको असर अटो क्षेत्रमा परेको बताए।
‘यो क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, पर्यटन र वित्तीय सेवासँग घनिष्ट रूपमा जोडिएको छ। सरकारले चालु आर्थिक वर्षमा राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउनुपर्छ,’ पाण्डेले भने।
स्वदेशमै ठूलो मात्रामा गुणस्तरीय रोजगारी सिर्जना गरी युवा पलायन रोक्न पनि पूर्वाधार र मोबिलिटी क्षेत्रमा लगानी बढ्नुपर्ने उनको भनाइ थियो। निजी क्षेत्रले वर्तमान सरकारबाट सुशासन, कानुनी सुधार र नीतिगत स्थिरताको अपेक्षा गरेको उनले बताए।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सम्पत्ति शुद्धीकरण ऐनले अटो बजारमा सिर्जना गरेको त्रासको विषय उठाए।
‘अहिले सम्पत्ति शुद्धीकरण ऐनले ठूलो त्रास सिर्जना गरेको छ। तपाईंसँग भएको पैसाले गाडी किन्न जानुभयो भने स्रोत कहाँबाट आयो भनेर प्रहरीले समातेर सोध्न सक्छ,’ अग्रवालले भने, ֲ‘६४ साल अगाडि नागरिकले वैधानिक ढंगले आर्जन गरेको सम्पत्तिको कहीं पनि अभिलेखीकरण गरिएको छैन। कसैले पनि स्रोत देखाउन सक्दैन। यस्ता अव्यावहारिक विकृतिहरू अविलम्ब सुल्झाउन सकिएन भने आर्थिक गतिविधि विस्तार हुन सक्दैन।’
सडक सुरक्षा र इन्जिनियरिङमा प्रहरी महानिरीक्षकको जोड
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा र सवारी व्यवस्थापन अहिलेको सबैभन्दा चुनौतीपूर्ण विषय भएको बताए।
तर, उनले सडक दुर्घटनाको डरलाग्दो तथ्यांक प्रस्तुत गर्दै चिन्ता व्यक्त गरे।
आईजीपी कार्कीका अनुसार गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा परी २ हजार ७०७ जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५५३ जना घाइते भएका छन्।
‘दैनिक औसतमा १३० जना घाइते भइरहेका छन् भने ७ जनाको मृत्यु भइरहेको छ। दुर्घटनामा पर्नेमध्ये ५९ प्रतिशत त मोटरसाइकल मात्रै छन्,’ उनले तथ्यांक सुनाए।
दुर्घटना हुँदा सधैं चालकको लापरवाही भनेर पन्छिने प्रवृत्ति रहेको तर 'सडक इन्जिनियरिङ' का कारण धेरै दुर्घटना हुने गरेको उनले औंल्याए। ‘सडकको स्लोप नमिलेको, खाल्डाखुल्डी, लेन नभएको जस्ता इन्जिनियरिङका कमजोरीले ज्यान गइरहेको छ। चालकलाई मात्र दोष दिएर उम्किन मिल्दैन,’ उनले भने।
साथै, उनले अटो व्यवसायीहरूलाई लक्षित गर्दै बजारमा धेरै ब्रान्डका गाडी भित्रिए पनि बिक्रीपछिको सेवा प्रभावकारी नभएको जनगुनासो बढेकोतर्फ ध्यानाकर्षण गराए। पढेलेखेका र सभ्य भनिने नागरिकहरूले नै जथाभावी पार्किङ गर्दा काठमाडौँको सडक अस्तव्यस्त हुने गरेको भन्दै उनले सचेतना र नियम पालनमा सबैको सहयोग मागे।
एक्स्पोका मुख्य आकर्षणहरू
चाडपर्व नजिकिँदै गर्दा आयोजना भएको यस एक्स्पोमा विक्रेताहरूले ग्राहकलाई आकर्षित गर्न भृकुटीमण्डपमा निकै आकर्षक र कलात्मक स्टलहरू निर्माण गरेका छन्। कम्पनीहरूले ग्राहक तान्न आकर्षक नगद छुट, एक्सचेन्ज बोनस र अन्य अफरहरू समेत घोषणा गरेका छन्। दुई पाङ्ग्रे, चारपाङ्ग्रे र प्यासेञ्जर भेहिकल अन्तर्गतका सवारी साधनहरु एक्स्पोमा रहनेछन् ।
चारपाङ्ग्रे गाडी अर्थात् प्यासेञ्जर भेहिकल अन्तर्गत हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लीपमोटर, वुलिङ लगायत ब्रान्डहरूको उपस्थिति विशेषगरी विद्युतीय सवारीहरू एक्स्पोको मुख्य आकर्षण बनेका छन् ।
दुईपाँग्रे भेहिकल अन्तर्गत एक्स्पोमा बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकीका साथै ईभी ब्रान्डहरू एथर, याडिया, निउ, प्यूजो/बगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स ब्रान्डहरू प्रदर्शनीमा छन्।
कमर्सियल भेहिकल अन्तर्गत चेरी वान्डा, केरी, केयटन, डोङफेङ, स्काईवर्थ लगायतका ब्रान्डहरू सहभागी छन्।
यसका साथै, एक्स्पोमा सवारी खरिदलाई सहज बनाउन विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले अन–द–स्पट फाइनान्सिङ र इन्स्योरेन्सको सुविधा पनि दिइरहेका छन्। सवारी प्रदर्शनसँगै एक्स्पोमा मोबिलिटीसम्बन्धी नीति, प्रविधि र सडक सुरक्षाका विषयमा विभिन्न नलेज सिरिजहरू पनि सञ्चालन हुने आयोजक नाइमाले जनाएको छ।
अवलोकनकर्ताका लागि सहज व्यवस्था
काठमाडौँको मध्यभागमा भइरहेको एक्स्पोमा आउने अवलोकनकर्ताको सहजताका लागि नाइमाले पार्किङको सुप्रबन्ध मिलाएको छ। कार लिएर आउनेहरूका लागि नेपाल पुलिस क्लबको मैदानमा र मोटरसाइकल लिएर आउनेहरूका लागि भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था गरिएको छ।
मोबिलिटी एक्स्पो अवलोकन गर्न सर्वसाधारणका लागि २०० रुपैयाँको टिकट शुल्क तोकिएको छ भने विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर ५० प्रतिशत छुट पाउने नाइमा नेपालले जनाएको छ


