NRN
दिपमालाले मारेको छलांग: मिस हङकङदेखी मिस नेपालसम्म…॥

शुरूमा त मिस नेपाल वर्ल्ड २०२६ घोषित हुनुभएकोमा दीपमाला ढकाललाई हार्दिक बधाई तथा शुभकामना!

हङकङमा जन्मिएर उतै हुर्किएकी दीपमाला ढकाल अर्थशास्त्रमा स्नातक हुनुका साथै विश्वप्रसिद्ध लगानी संस्था BlackRock मा Investment Strategist का रूपमा कार्य गरिसकेकी प्रतिभाशाली व्यक्तित्व हुन।यस अघि उनले मिस नेपाल हङकङ इन्टरनेशनल २०२६ को ताज लगाइ सकेकी छिन ।

हङकङदेखी छलांग मार्दै मिस नेपालसम्म आइ पुग्नुमा दिपमालाको मिहेनत, संघर्ष, आत्म बिश्वास र परिबारको साथले मुख्य भूमिका खेलेको छ । अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन । । हङकङमा नै जन्मेर उतै हु्र्किएता पनि नेपाली भाषा , संस्कृति र पहिचान बुझेको र यसलाई मनन गरेर अगाडि बढेकी प्रबासी नेपाली चेली हुन दीपमाला ।

दीपमाला गैरआवासीय नेपाली समुदायको दोस्रो पुस्ताकी प्रतिनिधि हुन । उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, विदेशमा जन्मिएर हुर्किए पनि आफ्नो मातृभूमि नेपाललाई हृदयमा राखेर अघि बढिरहेका नेपाली दोस्रो पुस्ताको क्षमता, प्रतिभा र सम्भावनाको प्रेरणादायी उदाहरण पनि हो । ‘’एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने भावनालाई आत्मसात् गर्दै संसारको जुनसुकै कुनामा जन्मिएर हुर्किए पनि आफ्नो जरा, पहिचान र मातृभूमिसँगको सम्बन्धलाई जीवन्त राख्न सकिन्छ भन्ने सन्देश दीपमालाको सफलताले दिएको छ।

विश्वका विभिन्न मुलुकमा हुर्किरहेका नेपाली मूलका नयाँ पुस्ताले आगामी दिनहरूमा आफ्नो ज्ञान, सीप, प्रतिभा र क्षमतामार्फत नेपालको नाम विश्वमञ्चमा अझ उँचो बनाउने छन । दीपमाला त्यस सम्भावनाको एउटा उज्ज्वल उदाहरण हुन । उनको यो उपलब्धिले विदेशमा रहेका नेपाली दोस्रो पुस्तालाई आफ्नो मातृभूमि, भाषा, संस्कृति, पहिचान र जरासँग जोडिन थप प्रेरणा दिनेछ भन्ने विश्वास लिन सकिन्छ ।

गैरआवासीय नेपाली समुदाय र मातृभूमि नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन पनि उनको सफलता प्रेरणाको स्रोत बन्नेछ। दीपमाला ढकालको आगामी यात्राको सफलता, सम्मान र उपलब्धिले भरिपूर्ण रहोस्। नेपालको गौरव अझ उँचो बनोस् र विश्वभर रहेका दोस्रो पुस्ताका नेपालीका लागि दीपमाला प्रेरणाको स्रोत बनेकी छन ।

 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update