आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरूङमार्ग उद्घाटन भएको हो।
त्यसपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गरे।
सुरुङमार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारीसाधनलाई सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ।
सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ रूपैयाँ र बाहिरिँदा ८० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ।
यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन्।
सुरूङमार्ग सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।


