काठमाडौ, प्रजातन्त्र दिवसको अवसरमा शहीद मेमोरियल अस्पताल, कलंकीको आयोजनामा फागुन ७ गते अस्पताल परिसरमा निःशुल्क विस्तारित स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त शिविरमा अस्पतालका वरिष्ठ परामर्शदाता चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, निःशुल्क रक्त परीक्षण, साथै अल्ट्रासाउन्ड र एक्स–रे सेवामा विशेष छुट प्रदान गरिएको थियो। शिविरमा वरिष्ठ चिकित्सकहरू डा. सुनील चौधरी, डा. रामकृष्ण बराल, डा. जितेन्द्र श्रेष्ठ, डा. समीर श्रेष्ठ, डा. सञ्जय श्रेष्ठ, डा. विजयकुमार श्रेष्ठ, डा. विजेन्द्र डंगोल, डा. जोरिना बस्नेत, डा. सिमान्त अंकित र डा. सुमित्रा थापाको सक्रिय उपस्थिति रहेको थियो।
आँखा परीक्षण सेवा दृष्टि आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरिएको थियो। शिविरबाट करिब ७३० जना सेवाग्राहीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए।यस बर्ष सेवाग्राहिको उपस्थिति बिगतका बर्षहरुमा भन्दा उल्लेख शहभागिता भएको थियो।
स्वास्थ्य शिविरको उद्घाटन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री तीर्थ प्रधान तथा शहीद स्मारक जनस्वास्थ्य संस्था लिमिटेडका उपाध्यक्ष श्री नीलकण्ठ अर्यालले संयुक्त रूपमा गर्नुभएको थियो।
अस्पताल प्रमुख डा. जितेन्द्र श्रेष्ठका अनुसार, जनताको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले यस्ता प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा नेपालका विभिन्न भागहरूमा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिनुभएको छ।
शहीद मेमोरियल अस्पताल, कलंकीले समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै गुणस्तरीय, सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


