
चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो आजदेखि सुरु भएको छ। डेरी चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सञ्चालन भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने उद्देश्य लिएको छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले आधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण तथा नवीनतम दुग्धजन्य उत्पादनहरू प्रदर्शनमा राखेका छन्। यी प्रविधिले उत्पादन लागत घटाउने र गुणस्तर सुधार गर्ने विश्वास गरिएको छ। चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष किसाेर बगालेका अनुसार, “किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजार सुनिश्चित गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्।” उद्घाटन समारोहमा बोल्दै राष्टि्य दुग्ध विकास बाेर्डका कार्यकारि निर्देशक राजेन्द्रप्रसाद यादवले भने, “दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, तालिम र बजार पहुँच अपरिहार्य छन्, र यो एक्स्पो त्यसकै प्रयास हो।”
एक्स्पो उद्घाटन कार्यक्रममा बोल्दै डेरी चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले भने, “यो एक्स्पो केवल प्रदर्शनी मात्र होइन, नेपाली दुग्ध क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने साझा प्लेटफर्म हो।” एक्स्पो अवधिभर किसान, सहकारीकर्मी, उद्यमी र विज्ञहरूबीच अन्तरक्रिया, तालिम तथा अनुभव आदान–प्रदानका कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसले उत्पादनको गुणस्तर सुधार, बजार विस्तार र व्यवसायिक सञ्जाल निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
चितवनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय डेरी एक्स्पोले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म दुग्ध क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।


