NRN

rain_THUfGvfVOU.-1769149083.jpg
काठमाडौँ । आज बसन्तपञ्चमीका दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार केही प्रदेशमा असिनासहितको पानीको सम्भावना रहेको हो । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपातसहित वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update