नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ ।
क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजबीच किर्तिपुरस्थित टियु मैदानमा नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुनेछ ।
दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुनेछ। यस पटक कुल ३२ खेल हुने छन् ।
संस्करणमा च्याम्पियन जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।
सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन् । हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ ।
यसपालि एनपीएलमा इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी छन् ।
यस पटक फाप डुप्लेसि, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन् । दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् ।
एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।
प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुनेछ ।
त्यस्तै, मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुनेछ ।

