-1757918290.jpg)
वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टोलीमा नेपाल ए टिममा उत्कृष्ट र आसालाग्दो प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् । सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईमा हुनेछ ।
नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो ।
ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो ।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम छन् ।