NRN
अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।

मेलबर्न स्टार्स एकेडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए ।

भिम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा  नेपाल ४ ओभरमा ३२-२ को स्थितीमा थियो । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए । रोहित ३३ रनमा आउट भए । ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा गएका नेपाली खेलाडी लगातार विकेट गुमाए । कुशल मल्ल ११, दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए ।

मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले  सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १-१ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update