NRN
उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो । 

पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्‍यो ।

दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं, इन्जुरी समयको पहिलो, छैटौं र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update