
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक भोलि(बिहीबार) बस्दैछ ।
बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।
बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित १२ एजेन्डामा छलफल हुने भएको छ । क्यानको केन्द्रीय कार्यालय मुलपानीमा विहान ९ बजेदेखि सुरू हुने बैठकका लागि क्यानले मंगलबार एजेन्डा पठाएको हो ।
जसमा एनपिएलको पहिलो संस्करणको आय व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ ।
यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी-२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ । थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन् ।
बैठकमा आइसिसीबाट फुकुवा भएको बजेटको विषयमा पनि छलफल हुनेछ । यो बैठकमा क्यानको विधान संशोधन गर्ने विषय पनि एजेन्डामा समावेश छ । यस्तै क्यानको वार्षिक साधारण सभा र जिल्ला क्रिकेट संघको निर्वाचनमा पनि छलफल हुनेछ ।
विविध विषयको एजेन्डामा आइसिसी तथा एसिसीको वार्षिक साधारण सभा, लुम्बिनी तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको विवाद छ । अन्तिम तथा १२ औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुनेछ ।