
मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले जित निकालेको हो ।
नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएन सक्यो ।
भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए ।
नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए । सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिए ।
आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल स्कोर खडा गरेको थियो ।
यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।
समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।