NRN
कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत

कराते खेलाडी एरिका गुरूङ विश्व करातेको सबैभन्दा कठिन मध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर काठमाडौं आइपुगेकी छन् । एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेको सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एरिकालाई स्वागत गरेका हुन् ।

एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन् ।

यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन् । सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन् ।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन् । उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update