NRN
सिड्नीमा महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

- राजन घिमिरे

अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू) मा रहेको नेपाली महावाणिज्य दूतावासको कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।

सोमबार अष्ट्रेलियाका लागि नेपाली नवनियुक्त राजदूत चित्रलेखा यादवले औपचारिक रूपमा महावाणिज्य दूताबासको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा राजदूत चित्रलेखा यादवले खुशी व्यक्त गर्नु हुंदै नेपाली समुदायसँग सहकार्य गरी अष्ट्रेलियामा रहनु हुने नेपालीहरूको हकहितका लागि आफू निरन्तर रूपमा लागि पर्ने प्रतिवद्धता जनाउनु भयो । राजदूत यादवले भन्नुभयो - ' नेपाली समुदायसँगको सहकार्य र समन्वयबाट अष्ट्रेलियामा नेपाली पहिचानलाई थप मजबुत बनाउने मेरो प्रयास हुनेछ ।'

महावाणिज्यदूत संजीव शर्माले उद्घाटन समारोहमा बोल्दै नयाँ कार्यालयबाट एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिनुका साथै कार्यालयले नेपाली डायस्पोराका हक-हितका लागि एक नयाँ आयाम थप्ने र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न समुदायका नेताहरू, व्यवसायी, पत्रकारहरूका साथै, सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो । उनीहरूले नेपाली समुदायका लागि दूतावासको भूमिकालाई सराहना गर्दै भविष्यका योजनाहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

नयाँ कार्यालय उद्घाटनसँगै महावाणिज्य दूतावासले एन एस डब्लू क्षेत्रमा रहेका नेपालीहरूका प्रशासनिक तथा दूतावासीय सेवाहरू थप प्रभावकारी र सहज रूपमा प्रवाह गर्ने विश्वास गरिएको छ । सिड्नीको सबैभन्दा व्यस्त र मुटु मानिने टाउनहलमा खोलिएको कार्यालय भित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरि सजावट गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update