
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई गत बिहीबार अदालतले उपलब्ध गराएको ५ दिनको समय सकिएपछि प्रहरीले थप समय माग गर्दै उनलाई अदालतमा उपस्थित गराएको हो ।
कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्यन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको हो ।
उनीसँगै अन्य चार जनालाई पनि कास्की प्रहरीले आज पोखरास्थित अदालतमा उपस्थित गराएको हो ।
सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित सोही मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लीला पछाईंलाई अदालतमा उपस्थित गराएको छ ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।