NRN
साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवाको हुँकार....

काठमाडौ, साढे पाँच महिना विदेश बसेर नेपाल फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बिहीबार आफ्नो संक्षिप्त प्रतिक्रिया दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले शाही आयोगमार्फत मुद्दा लगाउँदा त नसकेको भन्दै उनले अरूले पनि नसक्ने बताए ।

कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने,‘ऐतिहासिक कालखण्डदेखि नै मुद्दा खेपेको व्यक्ति हुँ  । हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो ।’

देउवाले भने, 'शाही शासन अन्त्य गरेर गणतन्त्र ल्याउन मैले चाहेर मात्रै हुने थिएन, मैले गर्न सक्ने थिएन, नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’ 

उनले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए । नेपाली जनता नै यो देशको मालिक भएको देउवाको भनाइ छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित घर जलाइदिएका थिए । प्रदर्शनकारीले देउवासँगै उनकी पत्नी आरजुमाथि कुटपिट गरेका थिए । त्यसपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर पुगेका थिए । 

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान चलिरहेको छ । प्रहरीले देउवा दम्पतीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न पटक–पटक प्रयास गर्दा पनि इन्टरपोलले मानेको थिएन ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update