नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा घरदैलो अभियान अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदातासँग भेटघाट गरिरहनुभएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिनुभएपछि गएको मङ्गलवार दोस्रोपटक सर्लाही आइपुग्नुभएका सभापति थापाले मतदातासँग भेटघाट गर्दै स्थानीयको कुरा बुझिरहनुभएको छ ।
निर्वाचन क्षेत्र अन्तर्गतको उत्तरी क्षेत्रमा रहेको बरहथवा नगरपालिका, बसबरिया गाउँपालिका अन्तर्गत सर्लाही ४ मा पर्ने वडाका मतदातासँग भेटघाटका क्रममा सभापति थापाले मधेशका निर्वाचन क्षेत्र मध्ये सर्लाही ४ लाई उत्कृष्ट बनाउने बताउनुभएको छ ।
“आगामी पाँच वर्ष भित्रमा मधेसमा रहेका ३२ निर्वाचन क्षेत्रमा सर्लाही ४ भौतिक विकासमा मात्र नभई शिक्षा, स्वास्थ्यका हिसाबले पनि नम्बर १ हुनेछ, म बनाउने छु । मेरो शिक्षा, स्वास्थ्य, प्राविधिकको टोलीले यस क्षेत्रको अध्यन गरेर गइसक्नुभएको छ, उहाँहरूले मलाई आगामी पाँच वर्षमा यहाँ गर्नपर्ने विकासको बारेमा सुझाव र योजना दिनुहुनेछ, त्यसका आधारमा म काम गर्नेछु । साथै, तपाइँले यहाँ देख्नुभएको सामस्यालाई पनि न्यूनीकरण गर्न म व्यवस्थित रुपमा योजना बनाएर आएको छु”, सभापति थापाले भन्नुभयो ।
मतदातासँग भेटघाटको क्रममा उहाँले काङ्ग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेको बताउनुभयो ।
“अन्य देशमा चुनाव जितेपछि के गर्ने ? सरकार बनेपछि के गर्ने भन्ने पूर्व तयारी गरिएको हुन्छ । यसैलाई आधार बनाएर ‘प्रोजेक्ट गभर्मेन्ट’ मा प्रधानमन्त्री बनेपछि ५ वर्षमा गर्ने कामहरूको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । काङ्ग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै छ । हामी जोशका साथ आएका छौँ, तर होस राखेर आएका छौँ”, उहाँले भन्नुभयो ।
सभापति थापाले घरदैलोका क्रममा स्थानीयले सुनाउनुभएको समस्यालाई आगामी पाँच वर्ष भित्रमा हटाउने बताउनुभयो । पहिलोपटक घरदैलो अन्तर्गत मतदातासँग मत माग्न पुग्नुभएका सभापति थापा स्थानीयले न्यानो स्वागत गरिरहेका छन् । उहाँले निर्वाचन क्षेत्र अन्तर्गतको उत्तरी भूभाग हुँदै दक्षिणी क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।


